चितवन निकुञ्जका प्रभावितलाई दुई करोड राहत

हिमाल प्रेस ६ साउन २०८१ १७:५२ | Sunday, July 21, 2024
चितवन निकुञ्जका प्रभावितलाई दुई करोड राहत

चितवन- चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई २ करोड २ लाख १७ हजार ७०२ रूपैयाँ राहत प्रदान गरिएको छ। निकुञ्जले ८१३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पुर्‍याएको क्षतिको मूल्यांकन गरी राहत रकम वितरण गरिएको हो। उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई एक करोड राहत रकम हस्तान्तरण गरिएको छ। यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार १७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई २ लाख ४५ हजार ४६८ हस्तान्तरण गरिएको छ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन्। उनीहरूमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए।

यसै गरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए। गत आवमा १८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ। त्यसका लागि २४ लाख ९१ हजार ७१० राहत रकम प्रदान गरिएको छ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोबापत ९१ हजार राहत बुझाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्‍याएको उनले बताए। घरगोठ क्षतिबापत ५ लाख ३५ हजार ९७५ राहत वितरण गरिएको छ। अन्नबालीमा ५२४ पटक क्षति भएको र ३६ लाख ९ हजार ३७५ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए। रासस

प्रकाशित: ६ साउन २०८१ १७:५२ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast