हतारमा बैठक डाक्दा राप्रपाभित्र लिङ्देनको आलोचना

हिमाल प्रेस २५ असार २०८१ १३:०२
158
SHARES
हतारमा बैठक डाक्दा राप्रपाभित्र लिङ्देनको आलोचना राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राजधानी केन्द्रित आन्दोलन गर्न भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चरणबद्ध छलफल गरिरहेको छ। राजधानीमा २० हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सार्ने तयारी राप्रपाले गरिरहेको छ। तर, राप्रपाको मूल आन्दोलन परिचालन समितिको बैठक भने हतारमा बोलाएको भन्दै पार्टीभित्रैबाट अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना भइरहेको छ।

लिङ्देन नै संयोजक रहेको यो समितिमा सबै केन्द्रीय सदस्यहरू समेत सदस्य हुन्छन्। समितिको बैठक आउँदो बुधबारलाई बोलाइएको छ। तर समितिको बैठकको खबर भने गत सोमबार मात्र दिइएको हो। ‘साह्रै थोरै समय दिइएर बैठक बोलाइएको छ। देशभरबाट काठमाडौँ आउन २ दिनमा कसरी सम्भव हुन्छ?’ राप्रपाका एक पदाधिकारीले भने,‘हुम्ला, मुगुदेखि कञ्चनपुरसम्म हाम्रा सदस्यहरू हुनुहुन्छ। कसरी आइपुग्न सम्भव होला?’ ती पदाधिकारीका अनुसार यो बैठकले सबै निर्णय अनुमोदन मात्र गर्ने हो।

यसअघि राप्रपा महामन्त्री धवलशमशेर जबरा संयोजक रहेको आन्दोलन परिचालन समितिले सबै तयारी गरेको छ। तर, यो बैठकमा आउन पाउने सबैको अधिकार हुन्छ। ‘यो नै हाम्रो पहिलो मूल आन्दोलन परिचालक समितिको बैठक हो। तर, पहिलो गाँसमै ढुंगा हुने सम्भावना छ।’ ती पदाधिकारीका अनुसार कोरम नपुगेर बैठक अनिर्णित हुने पनि सम्भावना छ। राप्रपाका केन्द्रीय सदस्य नै ३५० सदस्य छन्।

केन्द्रीय कार्य समिति बैठकले आन्दोलनको कार्यक्रम आन्दोलन परिचालन समितिले बनाउने भन्ने निर्णय गरेको थियो। जुन बनाएर कार्य सम्पादन समिति बैठकमा पेस भएर अनुमोदन (पास) पनि भइसकेको छ।

अब मूल आयोजक समितिले छलफलमा लैजाने हो। तर सोही बैठकमा नै धेरै सदस्यलाई बोलाइएको छैन। ‘यो बर्खा भनेर हामीले देशभर निमन्त्रणा गर्न सकेनौँ।’ राप्रपा महामन्त्री राजेन्द्र गुरुङ भन्छन्,‘यसपटक काठमाडौँमा उपलब्ध साथीहरूलाई मात्र निमन्त्रणा गरेका छौँ।’ गुरुङले नै सदस्यहरूलाई निमन्त्रणता दिएका थिए। गुरुङ आफैले पनि बैठक बारे ढिला जानकारी पाएको बताउँछन्।

‘मैले पनि असार २२ मा मात्र थाहा पाएको हो।’ गुरुङ भन्छन्। मूल समितिको बैठकमा सबैलाई नबोलाउनुलाई अध्यक्ष लिङ्देनलाई आन्दोलनप्रति इच्छा नभएको ती पदाधिकारी सुनाउँछन्। यसअघिको केन्द्रीय समितिको बैठकमा समेत लिङ्देनबाहेक नेताले मात्र जोडबल गरेर बैठकबाट निर्णय गरिएको थियो।

कस्तो आन्दोलन गर्दैछ राप्रपा?

संवैधानिक राजतन्त्र र सनातल हिन्दु राष्ट्रसहित ४० बुँदे माग राखेर राप्रपा आन्दोलन गर्दैछ।   देशभरिबाट २० हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सारेको छ। वर्षा यामपछि हुने निर्णायक आन्दोलनका लागि देशभरिका ६,७४३ वडाबाट प्रतिवडा कम्तीमा तीन जना जुझारु युवा राप्रपाले छनौट गर्नेछ । चुनिएका युवाहरूलाई राप्रपामा आबद्ध पूर्वसुरक्षाकर्मीहरुले विशेष प्रशिक्षण दिनेछन् ।

महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालय चाबहिलमा बुधबार बसेको बैठकले देशव्यापी रुपमा प्रत्येक हप्ता मठमन्दिर सफाइ गर्न राप्रपाका महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिका समितिहरूलाई निर्देशन दिएको छ । प्रत्येक हप्ता सञ्चालन हुने मन्दिर सफाइ कार्यक्रम दसैँ, तिहार र छठसम्म जारी रहने उनले बताए ।

महामन्त्री राणाका अनुसार, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिहरू र राप्रपासम्वद्ध जनवर्गीय संगठनहरुले साउन महिनासम्म काठमाडौँ उपत्यकाभित्र विरोध कार्यक्रमहरु आयोजना गर्नेछन् । सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमितताका विरुद्धमा नगर समितिले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछ भने सो कार्यक्रमको अनुगमन गर्न पार्टीका जिल्ला अध्यक्षलाई बैठकले जिम्मेवारी दिएको छ ।

आन्दोलन परिचालन समितिले समान विचारधारा भएका दल, समूह, संघसंस्था र व्यक्तिसँग अन्तरक्रिया जारी राख्नेछ । धार्मिक संगठन, पत्रकार, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी व्यापारीलगायत बुद्धिजीवीसँग राप्रपाले आन्दोलनको क्रममा अघि सारेको ४० बुँदे मागका विषयमा अन्तरक्रियाहरू आयोजना गर्नेछ ।
माग
https://himalpress.com/2024/07/148911/
प्रकाशित: २५ असार २०८१ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =