प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

हिमाल प्रेस २१ असार २०८१ १५:२८
102
SHARES
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने संसद्मा बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रधानमन्त्री दाहालको सचिवालयले असार २८ गते शुक्रबार विश्वासको मत लिने तयारी भएको बताएको हो।

सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आठ मन्त्रीलाई राजीनामा दिन लगाएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा छ।

असार १७ गते नेकपा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनाउन सहमति गरेर अघि बढेपछि दाहाल नेतृत्वको सरकार संकटमा परेको हो। यद्यपी उनले आफूले विश्वासको मत लिने बताउँदै आएका छन्।

सरकारमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी छ। नेकपा एकीकृत समाजवादीले पनि समर्थन गरिरहेको छ। दाहालले पछिल्लोपटक सरकारको नेतृत्व जारी राख्दा चारपटक विश्वासको मत लिइसकेका छन्।

उनले २०७९ पुस २६ गते विश्वासको मत लिँदा २६८ मत पाएका थिए। त्यसपछि २०७९ चैत ६ गते १७२ मत पाए। त्यस्तै २०८० फागुन ३० गते १५७ मत पाएका थिए भने २०८१ जेठ ७ गते १५७ मत नै पाएका थिए। अब भने उनले विश्वासको मत पाउने सम्भावना शून्य छ।

प्रकाशित: २१ असार २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =