असार १५ मा राष्ट्रपतिको सन्देश : धानखेती बढाए आत्मनिर्भर बनिन्छ

हिमाल प्रेस १५ असार २०८१ ७:२०
4
SHARES
असार १५ मा राष्ट्रपतिको सन्देश : धानखेती बढाए आत्मनिर्भर बनिन्छ राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन लाग्नुपर्ने बताएका छन्।

उनले जलवायु परिवर्तनबारे सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन्।

राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै उनले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।

‘नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ। नेपालको धानखेती आकासे सिचाइँमा निर्भर छ। वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देसमा भनिएको छ।

राष्ट्रपति पौडेलले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीऊ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गरे।

प्रकाशित: १५ असार २०८१ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast