मुख्यमन्त्री कप क्रिकेटको उपाधि सुर्खेतलाई

हिमाल प्रेस १४ असार २०८१ २०:१८ | Friday, June 28, 2024
मुख्यमन्त्री कप क्रिकेटको उपाधि सुर्खेतलाई

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मुख्यमन्त्री कप टी-२० क्रिकेटको उपाधि सुर्खेतले जितेको छ। आज (शुक्रबार) भएको फाइनल खेलमा रुकुम पश्चिमलाई १४ रनले पराजित गर्दै सुर्खेतले उपाधि हात पारेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको सुर्खेतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

उसका लागि कप्तान निश्चल रावलले सर्वाधिक ४३ रनको योगदान गरे। त्यस्तै रविन्द्रजंग शाहीले २९ र रोशन शाहीले २२ रन बनाएका थिए। रुकुम पश्चिमका लागि अर्जुन घर्ती र प्रतीक गिरीले २/२ तथा अरविन्द घर्ती, राजेन्द्र शाही र कप्तान ताराप्रकाश गिरी ‘विवश’ले समान १/१ विकेट लिए। जबाफी ब्याटिङमा उत्रिएको रुकुम पश्चिम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो।

रुकुम पश्चिमका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रन बनाउँदा प्रतीक गिरीले २२, कुनाल रावलले २१ र विजय पुनले १२ रन बनाए। रुकुम पश्चिमलाई रोक्न सुर्खेतका रविन्द्रजंग शाहीले २ तथा विपिन प्रकाश शर्मा, आदित्यविक्रम शाह, कृष्ण ओली, प्रयास गुरुङ र विपिन रावलले समान १/१ विकेट लिए। यस प्रतियोगितामा सुर्खेतका रविन्द्रजंग शाही प्लेयर अफ त म्याच बने।

सुर्खेतले ट्रफीसहित १ लाख १ हजार नगद पुरस्कार हात पारेको छ। रुकुम पश्चिमले भने ट्रफी र नगद ५१ हजारमा चित्त बुझाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा प्रदेशका सात वटा जिल्लाले भाग लिएका थिए।

सहभागी जिल्लालाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ए मा रुकुम पश्चिम, जाजरकोट, कालीकोट र दैलेख रहेका थिए। यो समूहबाट जाजरकोटको र दैलेख समूह चरनबाट बाहिरिएका थिए। समूह बी मा सुर्खेत, जुम्ला र कालीकोट रहेका थिए। यो ग्रुपबाट जुम्ला समूह चरणबाटै घर फर्किएको थियो।

कर्णाली प्रदेशमै आयोजना हुन लागेको १० औँ राष्ट्रिय खेलकुदको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजक कर्णाली प्रादेशिक क्रिकेट संघले जनाएको छ।

प्रकाशित: १४ असार २०८१ २०:१८ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast