स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

हिमाल प्रेस १४ असार २०८१ १७:२५ | Friday, June 28, 2024
स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

टक्सार- भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन्। त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल।

उनले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन्। नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उनले बताए।

राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिकजसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताए। आफ्नो उत्पादनले माग धान्न नसकेपछि उनले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको सुनाए।

‘ग्राहकको माग बढ्न थालेको छ। स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो’, भुजेलले भने, ‘यसले निकै उत्साहित भएको छु। त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु।’

उनको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषिखेती गर्ने योजनामा छन्। सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताए।

‘मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ। मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरूलाई सल्लाह दिने गरेको छु’, उनले भने।

विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरू बताउँछन्। हाल यहाँ प्रति केजी रु पाँच सयका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ। रासस

प्रकाशित: १४ असार २०८१ १७:२५ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast