काठमाडौँ- प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संघीय संसद्अन्तर्गतका सबै समितिलाई बैठकमा गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरूको कुनै सहयोग नलिन निर्देशन दिएका छन्।
आज मंगलबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले पत्र लेख्दै विषयगत समितिहरूलाई यसबारे ध्यानाकर्षण गराएका हुन्। समितिहरूलाई ध्यानाकर्षण गराएका हुन्।
‘संघीय संसदको संस्थागत जानकारी एवं अनुमतिविना कतिपय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरूले संघीय संसदअन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासा सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधिसभाका सम्माननीय सभामुख र राष्ट्रियसभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ’ पत्रमा भनिएको छ।
राज्य व्यवस्था समितिको आइतबारको बैठकमा गैरसरकारी संस्थाले खाजा बाँड्दा खैलाबैला भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बैठक छोडेरै हिँडेका थिए। अन्य सांसदहरूले पनि प्रश्न उठाएका थिए। यही विषय बाहिर आएपछि बिनाअनुमति कुनै सहयोग नलिन संसद सचिवालयले निर्देशन दिएको हो। संसद् सचिवालयले यसअघि यस विषयमा ध्यानार्षण गराउँदै आएको बताएको छ।