पश्चिम बंगालमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु

हिमाल प्रेस ३ असार २०८१ १७:३४ | Monday, June 17, 2024
पश्चिम बंगालमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भारतको न्यु जलपाइगुडी स्टेसन नजिकै सोमबार भएको रेल दुर्घटनापछि उद्धारका लागि खटिएका सुरक्षाकर्मी। तस्बिर :एपी/रासस

काठमाडौँ– भारतको पश्चिम बंगालमा सोमबार बिहान भएको एक रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६० जना घाइते भएको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले जनाएको छ।

मृत्यु हुनेमध्ये तीनजना रेलवेका कर्मचारी छन्। कञ्चनजंघा एक्सप्रेसको उक्त रेल न्यु जलपाइगुडी स्टेसन पार गरेर सियालदहतर्फ गुड्दै थियो। सोही क्रममा एउटा मालबाहक रेलले ठक्कर दिएको थियो। मालवाहक रेलको ठक्करबाट कञ्चनजंघा एक्सप्रेसको पछिल्लो भागमा क्षति पुगेको छ। दुर्घटनाका कारण आठवटा रेल रद्द भएका छन् भने २४ वटा रेलले रुट परिवर्तन गरेका छन्।

रेलवे बोर्डका सीईओ एवम् अध्यक्ष जया बर्माका अनुसार मालवाहक रेल सिग्नल उल्लंघन गरेर कञ्चनजंघा एक्सप्रेससँग ठोक्किएको थियो। उक्त रेलमा रहेका १३ सय यात्री सोही रेलमा गन्तव्यतर्फ लागेका  छन्। आइतबार बिहान त्रिपुराको राजधानी अगरतलाबाट गुडेको कञ्चनजंघा एक्सप्रेस सियालदहतर्फ जाँदै थियो।

दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। गम्भीर घाइतेलाई साढे दुई लाख र सामान्य घाइतेका लागि ५० हजार रुपैयाँ आर्थिक सहायता दिने पनि उनले बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपती मुर्मू, राहुल गान्धीलगायतले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।

‘पश्चिम बंगालमा भएको रेल दुर्घटनाबाट म दुःखी भएको छ। जसले आफ्ना प्रियजन गुमाएका छन्, उनीहरूलाई समवेदना छ। घाइते भएका यात्रीको चाँडै स्वास्थ्यलाभको कामना गर्दछु’, मोदीले भनेका छन्।

प्रकाशित: ३ असार २०८१ १७:३४ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast