पर्यावरणीय प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

हिमाल प्रेस २ असार २०८१ १७:२१ | Sunday, June 16, 2024
पर्यावरणीय प्रभाव सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

चितवन- विश्वका कृषि र प्रविधिसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन यहाँ हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले ‘कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव’ विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको हो।

निर्देशनालयका अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसिया, चीन र अष्ट्रेलियाका विज्ञ, प्रध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहनेछ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मी, योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा रमेशचन्द पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्री, नाष्टका सचिव डा रवीन्द्र ढकाललगायत नेपालका कृषि क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय र सङ्घसंस्थाका विज्ञ, प्राध्यापक र विद्यार्थीको उपस्थिति रहने निर्देशक डा कट्टेलले बताए।

भारतको महात्मागान्धी चित्रकुट विश्वविद्यालयका डिन डा डिपी राई, आइसिएआर कानपुरका निर्देशक डा सन्तकुमार दुवेलगायत भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय प्रतिनिधि सम्मेलनमा सहभागी हुने उनले जानकारी दिए। उनका अनुसार अमेरिका, इन्डोनेसिया, चीन, अष्ट्रेलियाबाट समेत विषयविज्ञ, प्राध्यापक र विद्यार्थीहरू उपस्थित भएर कार्यपत्र प्रस्तुत गर्नाका साथै छलफल गर्नेछन्।

एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने छ। कार्यक्रममा तीन सयजनाको सहभागिता रहने निर्देशनालयले जनाएको छ। कृषि विश्वविद्यालय स्थापनाको दिन पारेर भरतपुर भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको निर्देशनालयका अनुसन्धान निर्देशक डा कट्टेलले जानकारी दिए।

कार्यक्रममा कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभावका विषयमा छलफल गरिने छ। कट्टेलका अनुसार विभिन्न देशका विज्ञहरूले एकापसमा ज्ञान र सीपको आदानप्रदान गर्नेछन्। रासस

प्रकाशित: २ असार २०८१ १७:२१ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast