रवि लामिछाने। फाइल तस्बिर
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रलाई ‘गेम चेन्जर’ कार्यक्रमका रुपमा अघि बढाइएको बताएका छन्। पछिल्लो एक सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्यमुख्य कामको विवरण शुक्रबार सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले भने, ‘विभिन्न निकायसँग अन्तरआबद्धता गरिएको छ, यसबाट सुशासन र नागरिक सेवामा ठूलो परिवर्तन आउनेछ।’
आफूले पदभार ग्रहण गरेपछि नीतिगत तथा कानुनी सुधार गरिएको र अब चाँडै नतिजा देखिने उनको भनाइ छ। उपप्रधानमन्त्री लामिछानेले पछिल्लो तीन महिनामा मन्त्रालयले नीतिगत तथा कानुनी प्रबन्ध मिलाउनाका साथै शान्तिसुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम भएको जानकारी दिए। उनले अध्यागमन प्रशासनमा देखिएका समस्या समाधान गर्दै शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिइने अध्यागमनका कर्मचारीको पहिचानका लागि एकै प्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए।
उपप्रधानमन्त्री लामिछानेले गृह प्रशासनलाई नागरिकमैत्री बनाउने उद्देश्यका साथ सिंहदरबारमा नागरिकको सहज पहुँचको व्यवस्था मिलाइएको बताए। ‘सिंहदरबार सबै नागरिकका लागि खुला छ, सिंहदरबार पुहँचवालाको मात्र होइन, यहाँ सबै नागरिकको सहजै पहुँचको व्यवस्था मिलाइएको छ’, उनले भने, ‘आवश्यक काम परेका बेला अनलाइनबाट पास लिएर सहजै सिंहदरबार प्रवेश गर्न सकिनेछ।’
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यसअवधिमा गृह प्रशासन सुधारका कार्य सम्पन्न भएको बताए।


