प्रदेश तेस्रो तहका नेताको पार्किङ स्थल बन्यो : गृहमन्त्री लामिछाने

हिमाल प्रेस ३० जेठ २०८१ १६:३७
44
SHARES
प्रदेश तेस्रो तहका नेताको पार्किङ स्थल बन्यो : गृहमन्त्री लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनाबारे प्रश्न उठाएका छन्। आज बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताएका हुन्।

अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको उनको भनाइ छ। ‘के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ?,’ उनले भने, ‘त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो। त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ। तेस्रो तहका नेताहरू कता जाने भन्दा प्रदेशमा भन्ने भएको छ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए। ‘राजनीतिक दल सुरू गरेपछि पाँच महिनामा निर्वाचनमा होमिऔं। तीन महिना म यही मिल्ने चक्करमा हिँडे, अलिकति प्रोफाइल भएका, चिनेका मान्छेहरू सँग मिल्न पाए त, हुन त त्यो मेरो अलिअलि टेलिभिजनको लोकप्रियता हो। कयौं मूर्धन्य मानिसहरूसँग मिल्ने भन्दै म गएँ, पत्याए पो, पार्टी सभापति तपाईं नै हो भन्छु ठिक छ, राम्रो गर्दै जानुस् पछि हेरौंला नि भन्नुभयो,’ पुराना कुरा सम्झँदै उनले भने।

तीन महिना मिल्ने चक्करमा नहिँडेको भए अर्को २० सिट जित्ने उनको दाबी छ। ‘मेरो तीन महिना खेर गयो। त्यो तीन महिना मिल्ने चक्करमा म नहिँडेको भए अर्को २० सिट जित्थें,’ भट्टराईलाई लक्षित गर्दै उनले भने, ‘मिल्ने भन्ने कुरा बसेर छलफल गर्दै गरौंला भन्छन्। यो मिल्ने कुरा मेरो अनुभव मीठो छैन।’

रास्वपाले २०७९ को मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट र २०८० वैशाखमा भएको उपनिर्वाचनमा एक सिट गरी कूल २१ सिट जितेको थियो। समानुपातिकमा १४ र प्रत्यक्षमा ७ सिट रास्वपाले जितेको थियो।

उनले अहिले नयाँ भनिएका पार्टीहरू नमिलि एक्लै जानु पर्ने पनि बताए। नेसपाले वैकल्पिक शक्तिहरू मिलेर मोर्चा बनाएर जानुपर्ने मत राख्दै पनि आएको छ।‘आज पनि हामी नयाँ शक्ति, यहाँ मिल्नुपर्छ, त्यहाँ मिल्नुपर्छ भन्नेमा नलागौँ,’ उनले भने, ‘म भन्छु नमिलौं, मिल्नु पर्दैन। आफ्ना विचारका आधारमा उभिऔं, १० वर्ष हेरौं, को कति उभिन सक्ने रहेछ।’

प्रकाशित: ३० जेठ २०८१ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast