काठमाडौँ- नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले कानुन बनाउनेहरू नै पोसाकमा एकरूपता दिन नखोजेको आरोप लगाएकी छन्। आज प्रतिनिधिसभामा बोल्दै कानुन बनाउने र नागरिकको पोसाकमा भिन्नता दिन खोजिएको आरोप लगाइन्। उनले सिंहदरबार र संसद् भवनमा सांसदले जे लगाए पनि हुने तर नागरिकले भने औपचारिक पोसाक लाउनुपर्ने विभेदकारी नीति रहेको बताइन्।
दूरदराजका नागरिकलाई काठमाडौं आउनै गाह्रो हुने र काठमाडौं आएको बेला संसद् भवन हेर्न खोज्दा पोशाकका कारणले समेत समस्या हुने गरेको उनको भनाइ छ ।
पोशाककै कारण संसद् भवनमा पुगेर पनि दर्शकदीर्घामा जानबाट रोकिने गरेको उनले बताइन् ।
किन दर्शकदीर्घामा जानबाट रोकिएको भनेर आफूले प्रश्न गर्दा ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन्’ भनिएको उनले बताइन् ।
यस्तो जवाफ सुनेर आफू आश्चर्यजनक भएको पनि उनले सुनाइन् । यो सरकारको नियम होला भनेर आफूले मनमा दबाएर राखेको तर, त्यस्ता घटना दोहोरिरहेपछि उठाउनु परेको उनको भनाइ छ ।