
काठमाडौँ- अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटले अर्थतन्त्रको नयाँ चरण सुरु भएको दाबी गरेका छन्।
आज अर्थ मन्त्रालयमा बजेटको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले बजेट सबै क्षेत्रलाई समेटेर सन्तुलित रूपमा ल्याइएको जानकारी गराएका छन्।
आगामी वर्षको बजेटले स्थानीय तह र प्रदेशस्तरमा कृषि, रोजगार, शिक्षा, स्वास्थ्य र पुर्वाधार निर्माणमा फड्को मार्ने उनले बताए।
‘बजेट निर्माण गर्दा सबै क्षेत्रका सुझाव समेटिएको छ। बजेट कसैको दबाबमा बनेको होइन। तथ्यांकका आधारमा बजेट निर्माण भएको छ। दबाबका बीच बजेट बनाउनुपर्ने बाध्यता थियो।’
उनले भने, ‘बजेटले अर्थतन्त्रको आशा जगाएको छ। नीजि क्षेत्रका समस्या समाधान गर्ने गरी बजेट ल्याइएको छ। त्यही भएर आगामी वर्षको बजेट लागू भएपछि अहिलेको भन्दा धेरै अर्थतन्त्रमा सुधार हुन्छ। यसमा म ढुक्क छ।’
बजेटले अर्थतन्त्रको सबै समस्या समाधान गर्ने र नीजि क्षेत्रलाई आफनो व्यवसाय सन्चालनका लागी कानुनीरूपमै सहजीकरण गराइएको उनको भनाइ छ।
बजेटले निराशा बोकेका युवाको समस्या सम्बोधन गर्ने र देशभित्र केही गर्नुपर्छ भन्ने युवाको सपना पनि बजेटले पूरा गर्ने उनको दाबी छ।
पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले विद्युत व्यापारका लागि विशेष योजना ल्याइएको बताएका छन्। उनले सूचना प्रविधिमा रोजगारी सिर्जना, काठमाडौँमा आइटी हब, सातै प्रदेशमा कृषिमा रोजगारी, कृषि उत्पादनमा वृद्धि र कृषिसँग सम्बन्धित योजना ल्याइएको अर्थमन्त्री पुनले जानकारी गराए।
यस्तै, उनले आगामी बर्षको बजेटमा सहकारी ठगी नियन्त्रण, सहकारी सन्चालन, उद्योग सन्चालन र विकासको मोडल प्रष्ट बाकेर ल्याइएको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेटमा कामसँगै खर्चको अनुगमन गरिने अर्थमन्त्री पुनले बताए। सरकारले समयमा खर्च नहुने समस्या छ। यो समस्या समाधान गर्नुपर्छ र सरकार यस्तो प्रवृत्तिको विपक्षमा रहेको उनले बताए।
विदेशमा भइरहेको आयातमा देखिएका समस्या र करका विषयमा पनि बजेटमा प्रष्ट पारिएको उनले पत्रकार सम्मेलनमा जानकारी गराए। उनले आलु, स्याउ, प्याज र अन्य कृषिका सामाग्री आयातमा लाग्ने भ्याट समेत सरकारले बजेटमार्फत घटाएर ल्याएको उनको भनाइ छ।
सरकारले आगामी वर्षको बजेट कसैको अनुहार हेरेर नल्याइएको र सबै क्षेत्रका समस्या समाधान गर्ने गरी ल्याएको बताएका छन्। उनले स्वदेशी प्रवद्र्धनमा आफू लागेको बताएका छन्। अल्लोका झोला बोकेर पनि आफूले सन्देश दिएको अर्थमन्त्रीको दाबी थियो। उनले अब तत्काल आफ्नो मन्त्रालयमा पनि स्वदेशी फर्निचर प्रयोग गर्ने बताए।