काठमाडौँ- इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको जनाएका हुन्।
दुर्घटना स्थलमा शव फेला परेको इरानी एक अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोर्यटसले उल्लेख गरेको छ। अजरबैजानस्थित एक कार्यक्रमबाट फर्कँदै गरेका बेला राष्ट्रपति रैसी, होसेन अमिर अब्दल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर दुर्घटनामा परेको थियो।
बीबीसीका अनुसार इरानी सरकारी टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत नरहेको जनाएको छ। इरानस्थित रेड क्रेसन्ट समाजका प्रमुखले पनि इरानी टेलिभिजनलाई दुर्घटना क्षेत्रको अवस्था ‘राम्रो नभएको’ बताए।
इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा यात्रारत रहेको पुष्टि गरेका छन्।


