संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक फेरि बस्यो

हिमाल प्रेस ६ जेठ २०८१ १५:२८
34
SHARES
संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक फेरि बस्यो

काठमाडौँ- सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय दल गठनपछिको कार्यादेश कस्तो हुने भन्ने टुंगो लगाउन कार्यदलको बैठक पुन: बसेको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो।

सोहीअनुसार दलहरू संसदीय समिति बनाउन तयार भए र समिति गठनका लागि कार्य दल पनि बनेको छ। तर छानबिनको कार्यदेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने विषयमा सहमति हुन सकेन।

कांग्रेसले गृहमन्त्रीको नाम किटान हुनुपर्ने अडान राखे पनि सत्तापक्षले त्यसमा सहमति जनाएन। पछि फेरि दलहरूबीच गृहमन्त्रीको नाम उल्लेख नगर्ने र उनी मुछिएको भनिएको सहकारीको नाम उल्लेख गर्ने छलफल भएको थियो।

बैठकमा भएको छलफलबारे कांग्रेसले आन्तरिक छलफलका लागि समय माग्यो। सोहीअनुसार बैठक स्थगित भएको थियो। कांग्रेसले आफ्नो आन्तरिक छलफल सकेपछि अहिले फेरि कार्यदलको बैठक बसेको हो।

कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले छानबिन समितिको क्षेत्राधिकारबारे केही सहमति बाँकी रहेको बताए।

प्रकाशित: ६ जेठ २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =