सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाउलान् विश्वासको मत?

हिमाल प्रेस ३ जेठ २०८१ ६:५८ | Thursday, May 16, 2024
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाउलान् विश्वासको मत?

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन्।

आज बिहान १०ः३० बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची छ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो।

अब भने एमालेले सोडारीलाई विश्वासको मत दिने भएको छ। सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन्।

सोडारीले विश्वासको मत पाउन २७ मत चाहिन्छ। विश्वासको मत पाउन एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र सांसद जोशीको मत चाहिन्छ। हालसम्म यी सबै पक्षले मत दिने बताएको मुख्यमन्त्री स्रोतले जनायो।

प्रकाशित: ३ जेठ २०८१ ६:५८ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast