प्रिमियर लिग : उपाधि नजिक सिटी, टोटनहम र चेल्सीको जित

हिमाल प्रेस ३० वैशाख २०८१ ७:१५
4
SHARES
प्रिमियर लिग : उपाधि नजिक सिटी, टोटनहम र चेल्सीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फुलहममाथि ४-० को फराकिलो जित दर्ता गर्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सिटीको जितमा डिफेन्डर जोस्को ग्वार्डीओलले दुई गोल गरे भने फिल फोडेन र जुलियन अल्भारेजले एक-एक गोल गरे।

१३औं मिनेटमा केभिन डीब्रुइनको पासमा गोल गर्दै ग्वार्डीओलले सिटीलाई अग्रता दिलाएका थिए । सो अग्रता ५९औं मिनेटमा फोडेनले दोब्बर बनाए । बक्सको छेउमा पाएको मौकामा उनले राम्रो फिनिश गर्दै सिटीलाई दुई गोलको अग्रता दिलाएका थिए।

७१औं मिनेटमा ग्वार्डीओलले व्यक्तिगत दोस्रो गोल गरे। बर्नार्डो सिल्भाको क्रसमा फार-पोस्टमा सहज गोल गर्दै उनले अग्रता तीन गोलको बनाए।

त्यसपछि मैदान प्रवेश गरेका अल्भारेजले इन्ज्युरी समयमा पेनाल्टी मार्फत गोल गर्दै जित सुनिश्चित गरे।

जित पछि सिटीले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने मौका आफ्नो हातमा पाएको छ। लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ। दोस्रो स्थानमा रहेको आर्सनलले कुनै एक खेलमा हार बेहोरेको अवस्थामा सिटीले एक जित पछि नै लिग उचाल्ने छ।

सिटीको ३६ खेलमा ८५ अंक रहेको छ । यस्तै दोस्रो स्थानको आर्सनलको ८३ अंक छ।

टोटेनहमको जित

लगातार चार हार व्यहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ। टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्‍यो।

टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डरबाट आएको थियो। तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए।

३२औँ मिनेटमा राइट-ब्याक पेड्रो पोर्रोले उत्कृष्ट गोल गर्दै टोटेनहमका लागि बराबरी गरे। ८२औं मिनेटमा मिकी भ्यान डे भेनले बक्सको छेउबाट गोल गर्दै खेलमा टोटेनहमको जित सुनिश्चित गरे।

चेल्सीको जित

चेल्सीले नटिंघम फरेस्टविरुद्ध पुनरागमन जित दर्ता गरेको छ। चेल्सीले नटिंघम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो।

आठौँ मिनेटमा मुखाएलो मुड्रीकको गोलबाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो। १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं मिनेटमा पूर्व चेल्सी खेलाडी क्यालम हड्सन ओडोइले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए।

तर ८०औं मिनेटमा रहिम स्टर्लिङले बक्सको बायाँ भागबाट राम्रो फिनिश गर्दै बराबरी गोल गरेका थिए।

त्यसको दुई मिनेट पश्चात रिस जेम्सको क्रसमा निकोलस ज्याक्सनले हेडर मार्फत गोल गर्दै चेल्सीलाई जित दिलाए ।

जित पछि चेल्सी ३६ खेलमा ५७ अंक सहित सातौं स्थानमा रहेको छ । पराजित फरेस्ट भने ३७ खेल खेल्दै २९ अंक सहित १७औं स्थानमा छ।

प्रकाशित: ३० वैशाख २०८१ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =