र, त्यसपछि खरानी भए सपनाहरू…

हिमाल प्रेस १० वैशाख २०८१ २०:३४
36
SHARES
र, त्यसपछि खरानी भए सपनाहरू… प्रतिनिधिमूलक तस्बिर

तम्घास- गुल्मीको इस्मा गाउँपालिका-२ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाएका थिए।

जीवनमा धेरै दु:खले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो। जंगलबाट आगो बस्तीमा पस्दा उनको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र ९ वटा बाख्रा आगोमा परे।

गरगहनासहित घरमा भएका अन्न, लत्ताकपडा, गोठमा भएको घाँसपात केही बाँकी रहेनन्। उनले सुरु गरेको व्यावसायिक बाख्रापालनको पनि नाम निशाना रहेन। घरमै सञ्चालन गरेको मिल पनि आगोले खरानी बनायो।

‘हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले,’ उनले भने, ‘आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो।’ आफूहरू बल्लतल्ल  घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको उनले बताए। गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन भ्याउँदा बाँचे।

सोही गाउँका घनबहादुर कुँवरले पनि किराना पसल सञ्चालन गरेका थिए। परिवार चलाउन किराना पसलले सहयोग पुगेको थियो। आगो लागेको दिन शनिबार बिहान उनी बिहे भोजको निम्तो गर्न बेँसी झरेका थिए। सोही समयमा जंगलबाट आएको आगोले उनको किराना पसल, घर, गोठ र चर्पी जलेर नष्ट भयो।

‘बस्ने बास, लाउने कपडा र अन्नपात सबै जल्यो,’ उनले भने, ‘मेरा सबै आशा आगोले एकै छिनमा खरानी बनाइदियो।’ आगोले घर जलेपछि रेडक्रसले दिएको त्रिपालमुनि गुजारा चलाइरहेका छन्। आगोले घरका भैँसी र बाख्रा पनि मरेको उनले बताए।

सोही ठाउँकी कमला कुँवर शनिबार बिहान बिहे भोज खान छल्दी गएका थिए। त्यही बेला गाउँमा लागेको आगोले उनको घर पनि बाँकी राखेन।

‘बिहान घरबाट निस्कँदा ठिकै थियो, फर्केर आउँदा घर थिएन,’ कुँवरले  भने, ‘आगोले मन छियाछिया भएको छ।’ सिंगो गाउँ सखाप हुने गरी आगो लगाउनेलाई कारबाही हुनुपर्ने उनको माग छ।

स्थानीय रामकुमारी थापाले आफ्नो छोरा अर्काको घर जोगाउन जाँदा आफ्नो गोठ जलेको बताइन्। गोठको आगो निभाउन घरको छानो भत्काए पनि सम्भव नभएको थापाको भनाइ छ। गोठमा आगलागी हुँदा दुईवटा भैँसी, दुईवटा बाख्रा र गहना जलेर नष्ट भएको थापाले बताए।

इस्मा रेडक्रसमा कार्यरत बैकुण्ठ कुँवरले अत्यधिक हावाहुरीले गर्दा सिंगा गाउँ सखाप भएको बताए। ‘एक्कासि आगोको झिल्को फैलिन थाले, निभाउने र सहयोग गर्ने कुनै मौका रहेन,’ उनले भने,  ‘धन्न मानवीय क्षति हुन पाएन।’

आगालगीबाट पीडित उनीहरू प्रतिनिधिमूलक पात्र मात्रै हुन्। जिल्लाको विभिन्न ठाउँमा आगलागी हुँदा धेरै क्षति भएको छ। त्यसमध्ये पनि इस्मामा सबैभन्दा धेरै क्षति भएको छ। इस्माको वडा नं १, २ तथा ४ मा लागेको आगोले ६० भन्दा धेरै घरगोठ जलेका छन्। सिंगो गाउँ आगोले सखाप बनाएको छ। आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा पशुचौपाया मरेका छन्। डढेलोले इस्मामा लु४त ६५३५ नंको ट्र्याक्टर जलेको छ ।

इस्मा गाउँपालिकाले आइतबार साँझ विज्ञप्ति जारी गरी आगलागी पीडितलाई सहयोगको अपिल गरेको छ। इस्मावासी आगलागीबाट पीडित भएको भन्दै गाउँपालिकाले सहयोगका लागि सबैसँग अपिल गरेको हो।

गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको तलब र कर्मचारीहरुले एक महिनाको पाँच प्रतिशत तलब आगलागी पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन्।

सोही क्षेत्रका प्रदेश सांसद डिल्लीराज भुसालले बस्तीको पुनःनिर्माणका लागि पहल गर्ने बताए। गुल्मी जिल्लाभरमा आगलागीबाट ३७ घर र ४६ गोठ गरी ८३ घरगोठ जलेका छन्। रासस

प्रकाशित: १० वैशाख २०८१ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast