मौरी चरन क्षेत्रको अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

हिमाल प्रेस ८ वैशाख २०८१ १६:४७ | Saturday, April 20, 2024
मौरी चरन क्षेत्रको अभाव हुँदा म्याग्दीमा मह उत्पादन घट्यो

म्याग्दी- म्याग्दीका जंगलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ।

म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैँयु, दुधिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव र पुष्परसको कमी भएका कारण मह उत्पादन घट्दै गएको कृषकले बताएका छन्।

जिल्लाको मालिका गाउँपालिका–१ निस्कोटका किसान तिलबहादुर पुनले विगतका वर्षको तुलनामा तीन वर्षयता मह उत्पादन घटेको बताए। ‘गाउँमा मौरीपालन गर्ने कृषकको संख्या बढे पनि मह उत्पादन भने घटेको छ’, पुनले भने।

अत्यधिकरूपमा डढेलो लाग्नु, बाढी, पहिरो, भू–क्षयले क्षति पुर्‍याउनाका साथै कुकाठका नाममा सामुदायिक वनले चिउरी, पैँयु र दुधिलाका बोट काट्नेक्रम बढेपछि पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनको भनाइ रहेको छ।

जिल्लाका बेनी नगरपालिकालगायत मंगला, धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका बिम, मराङ, ताकम, ज्यामरुककोट, रत्नेचौर, सिम, राखु, पात्लेखेत, अर्मन, बाबियाचौरका गाउँमा व्यावसायिकरूपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन्।

कृषि ज्ञान केन्द्रले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ।

जिल्लामा मौरीपालक कृषकको संख्या बढ्दै गइरहेको छ। जिल्लाका छ स्थानीय तहका दुई सयभन्दा बढी कृषक व्यावसायिक मौरीपालनमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन्।

मह उत्पादन वृद्धिका लागि तोरीखेतीको क्षेत्रफल वृद्धि, पैयुँ, दुधिलो, चिउरीजस्ता रसदार वनस्पति र बोटबिरुवाको संरक्षण तथा वनमा डढेलो नियन्त्रण गरिनुपर्ने कृषि प्राविधिकहरू बताउँछन्।

प्रकाशित: ८ वैशाख २०८१ १६:४७ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast