मोरङ- आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार साँझ पुगिसकेको जानकारी दिए।
उनले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस, सर्वदलीय बैठक आह्वानलगायतका कार्य सुरु गरेको बताए।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लवनकश्यप अधिकारीले निर्वाचनको वातावरण शान्तिपूर्ण र सौर्हादपूर्ण रहेको छ भन्दै सम्पूर्ण मतदान केन्द्र सुरक्षित रहेको र भयरहित एवं त्रासबिना मतदान गर्न सबैलाई आग्रह गरेका छन्।
प्रत्येक निर्वाचन केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र नेपाली सेनाको व्यवस्था गरिएकाले ढुक्कसाथ मतदान गर्न मतदातालाई आफ्नो केन्द्रमा जान आग्रह गरे।
जिल्लामा तीन सय छ केन्द्रमा आठ सय ३९ मतदान केन्द्र र दुई अस्थायी केन्द्र गरी जम्मा आठ सय ४१ मतदान केन्द्र रहेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।
जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
उनले निर्वाचनलाई निष्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहेको भन्दै निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरी सुरक्षाको चार घेरा रहने बताए।
एक मतदान केन्द्रमा आठदेखि १२ राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था पनि भएको प्रजिअ दाहालले जानकारी दिए। मोरङमा प्रतिनिधिसभातर्फ छ स्थानका लागि एक सय पाँच र प्रदेशसभातर्फ १२ स्थानका लागि एक सय १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
यसैगरी मतदानस्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाइमा विशेष ध्यान दिन प्रिजिअ दाहालले निर्देशन दिनुभएको छ। जिल्लामा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीका दुई हजार ८४ र तीन हजार १६ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
मोरङमा कुल सात लाख ३५ हजार पाँच सय २५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। जसमा पुरुषको संख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको संख्या तीन लाख ६१ हजार एक सय ९३ रहेका छन्।
छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार छ सय १५ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेशसभामा मतदान गर्ने (१)मा ६४ हजार चार सय ८२ र (२) मा ५९ हजार एक सय ३३ मतदाता छन्। निर्वाचन क्षेत्र नं २ मा एक लाख २४ हजार सात सय २९ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेशसभाका लागि (१)मा ६१ हजार ५८ र (२)मा ६३ हजार छ सय ७१ मतदाता छन्।
निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता छन् भने प्रदेशसभातर्फ (१)मा ७५ हजार तीन सय ९३ र (२)मा ७४ हजार चार सय ४०, निर्वाचन क्षेत्र नं ४ मा एक लाख १० हजार ९३ मतदाता छन् भने प्रदेशसभातर्फ (१)मा ५७ हजार तीन सय ९० र (२)मा ५२ हजार सात सय तीन मतदाता छन्।
निर्वाचन क्षेत्र नं ५ मा एक लाख चार सय ९४ मतदाता छन् भने प्रदेशसभातर्फ (१)मा ४७ हजार चार सय ५५ र (२)मा ५३ हजार ३९ तथा निर्वाचन क्षेत्र नं ६ मा एक लाख २६ हजार सात सय ६१ मतदाता छन्। प्रदेशसभातर्फ (१)मा ७८ हजार नौ सय ६४ र (२)मा ४७ हजार सात सय ९७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।