अब वैदेशिक रोजगार कार्यालयमा तीन सिफ्ट

हिमाल प्रेस ११ चैत २०८० १६:५३ | Sunday, March 24, 2024
अब वैदेशिक रोजगार कार्यालयमा तीन सिफ्ट

काठमाडौँ- वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको निर्देशनपछि कार्यालयले तीन सिफ्टमा काम गरेर श्रम स्वीकृति दिन लागेको हो। बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा काम गर्न लागिएको कार्यालयकी निर्देशक एवं सूचना अधिकारी कल्पना मास्के श्रेष्ठले बताइन्।

मन्त्री अयर्यालले वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रक्रिया थालेको एक घण्टाभित्र श्रम स्वीकृति दिन निर्देशन दिएका थिए। वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (फेइम्स) सुधार गरी सेवा दिन नसके अन्य विकल्प खोज्न पनि मन्त्री अर्यालको आग्रह थियो।

वैदेशिक रोजगार सेवा व्यवस्थापन कार्यविधि, २०७९ संशोधन भई एक तहबाटै पुनः श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। यसअघि पुनः श्रम स्वीकृतिका लागि आवेदन तथा कागजात प्रमाणीकरण र श्रम स्वीकृति अलगअलग ठाउँबाट हुँँदै आएको थियो।

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा छिटो, छरितो र व्यवस्थित रूपमा एक घण्टाभित्र श्रम स्वीकृति जारी गर्न वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स) मा सुधारका प्रयास भइरहेको श्रेष्ठको भनाइ छ। सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप कार्मचारीलाई तीन सिफ्टमा विभाजन गरिएको छ।

‘श्रममन्त्रीबाट श्रम स्वीकृति जारी गर्न आवश्यक सुधारका लागि निर्देशन आएअनुसार काम गर्ने प्रयत्न भइरहेको छ। एक घण्टाभन्दा कम समयमा श्रम स्वीकृति जारी गर्ने गरी काम अघि बढेको छ’, उनले भनिन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले आगामी सातादेखि एक तीन सिफ्टमा श्रम स्वीकृति जारी गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाह व्यवस्थित बनाइनेछ। टोकनको संख्या समेत बढाइने उनको भनाइ छ।

कार्यालयले दैनिक २ हजारभन्दा बढी श्रम स्वीकृति जारी गर्दै आएको छ। वैदेशिक रोजगार व्यवसायीको मागअनुसार श्रम स्वीकृतिको संख्या थपघट हुने कार्यालयले जनाएको छ। कार्यालयकी सूचना अधिकारी श्रेष्ठले औसतमा दैनिक २ हजारभन्दा बढी संस्थागत र व्यक्तिगत श्रम स्वीकृति जारी हुने गरेको बताइन्।

मन्त्री अर्यालले श्रम स्वीकृतिका लागि जतिसक्दो चाँडो काम होस् भनेर सम्बन्धित निकायलाई निर्देशन दिएअनुसार काम भइरहेको बताए। ‘विगतका समस्या पनि समाधान गर्दै वैदेशिक रोजगारीमा जाने कामदारलाई जति सक्दो श्रम स्वीकृति दिने व्यवस्था गर्न निर्देशन दिइएको छ। सोहीअनुसार काम भइरहेको छ’, उनले हिमाल प्रेससँग भने।

प्रकाशित: ११ चैत २०८० १६:५३ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast