रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

हिमाल प्रेस १ चैत २०८० १८:३१ | Thursday, March 14, 2024
रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु रुसी सेना। फाइल तस्बिर

काठमाडौँ- रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ। उनीहरूको युक्रेनविरुद्धको द्वन्द्वमा ज्यान गएको हो।

‘रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकहरूले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ।

यसअघि, परराष्ट्रले रुसी सेनामा भर्ती भएका १३ नेपालीको मृत्यु भएको जनाएको थियो। सातजना थपिएसँगै रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या २० पुगेको छ।

परराष्ट्रका अनुसार, पछिल्लोपटक रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने सात नेपालीमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्रले जनाएको छ।

यस्तै, रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई त्यहाँको सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार र त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई पुनः अनुरोध गरिएको पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: १ चैत २०८० १८:३१ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast