हङकङ टी–२० आई सिरिजको उपाधि पीएनजीलाई : ८५ रनमै अलआउट भयो नेपाल

हिमाल प्रेस ३० फागुन २०८० १५:१७ | Wednesday, March 13, 2024
हङकङ टी–२० आई सिरिजको उपाधि पीएनजीलाई : ८५ रनमै अलआउट भयो नेपाल

काठमाडौँ- खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो।

योसँगै उक्त सिरिजको उपाधि पीएनजीले जितेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

जवाफी व्याटिङमा उत्रिएको नेपालले सुरुवातीदेखि नै खराब प्रदर्शन गर्दै ८५ रनमै अलआउट भएर उपाधि पीएनजीलाई सुम्पियो।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए भने आरिफ शेखले १५ रन। यस्तै कप्तान रोहित पौडेलले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरेका थिए।

यस्तै अलेई नाओले अविजित रहँदै ३० रन बनाए। हिला भारेले १८, हिरा हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपरले १३ रनको योगदान दिए।

अलराउण्डर कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए। उनले अघिल्लो खेलमा पनि पपुवा न्युगिनीको ४ विकेट लिएका थिए।

नेपालका आकाश चन्दले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए भने करन केसी र गुलसन झाले १/१ जनालाई आउट गरे। नेपाललाई सस्तैमा समेट्नका लागि पीएनजीका बुवा मोरेअ, सेमो कमेअ, चाद सोपर र सासे बाओले समान दुई/दुई विकेट लिए भने अलेई नाओले एक विकेट लिए।

प्रकाशित: ३० फागुन २०८० १५:१७ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast