२०७२ सालमा संविधान जारी भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिमा सत्ता उथलपुथलको केन्द्रका रूपमा रहँदै आएका छन्। संविधान जारी भएपछि प्रचण्डले जेन्टल म्यान एग्रिमेन्ट भनेर केपी ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गरे। ओलीको प्रधानमन्त्री बन्ने इच्छा पूरा गर्ने नेता प्रचण्ड नै भए। हुन त २०५२ सालमा हिंसाको सहारा लिएर प्रचण्डले नेपाली राजनीतिमा उथलपुथल ल्याउन थालेका हुन्। यहाँ भने नयाँ संविधान जारी भएपछि प्रचण्डले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न अपनाएका केही सन्दर्भ मात्रै चर्चा गर्न खोजिएको छ।
प्रसंग सुरु गरौँ, केपी ओली पहिलोपल्ट प्रधानमन्त्री भएको घटनाबाट। जनआन्दोलन २ भइरहेका बेला ओली नेपालमा गणतन्त्र आउनु भनेको ‘बयलगाडा चढेर अमेरिका’ पुग्नुजस्तै हो भनेर अभिव्यक्ति दिइरहेका थिए। २०७२ सालमा तिनै ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउने क्रान्तिकारी नेता हुन् प्रचण्ड। जानकारहरूका अनुसार प्रचण्डलाई त्यति बेला ओलीलाई मज्जैले चलाउन सक्छु भन्ने आत्मविश्वास थियो। प्रचण्ड विश्वासको राजनीतिमा किन टिक्थे र? ओली प्रधानमन्त्री बनेको ९ महिनामै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भित्रभित्रै कुरा मिलाएर आफू प्रधानमन्त्री बन्न वर्षमान पुनलाई परिचालन गरिरहे।
आफू भने ओलीको शैलीमा रमाइरहे। ओलीले त्यही बेला राष्ट्रवादको ढोल बजाइरहेका थिए। संविधान कार्यान्वयनको पाटोमा ओलीलाई अल्झाइराख्ने तर काम अगाडि बढाउन नदिने रणनीति प्रचण्डको थियो। प्रचण्डको अभीष्ट थियो, आफू प्रधानमन्त्री बन्न आन्तरिक र बाह्य शक्ति सन्तुलन मिलाउने। त्यसमा उनी प्रचण्ड सफल पनि भए। प्रचण्डकै भनाइलाई आधार मान्ने हो भने एकपटक उथलपुथल भयो। केही दिनअघि प्रचण्डले भनेका छन्, ‘म नमरुन्जेलसम्म यो देशमा उथलपुथल भइरहन्छ।’ अब कति उथलपुथल ल्याउने हुन्?
प्रचण्ड २०७३ सालमा कांग्रेको ढाडमा टेकेर प्रधानमन्त्री भएका थिए। सत्ताबाट बाहिरिएका ओली रन्थनिए। आफूले पद गुमाउनुमा देशीविदेशी शक्तिको हात रहेको आरोप उनको थियो। ओलीलाई सत्ताच्युत गर्ने अरू कोही नभएर उथलपुथल राजनीतिका महान् खेलाडी प्रचण्ड थिए।
कांग्रेस नेता विमलेन्द्र निधि उपप्रधानमन्त्री बनेका थिए। कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति थियो। संविधान कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका प्रचण्डले आन्दोलनमा रहेका मधेशी दललाई चतुर्याइँपूर्वक स्थानीय निर्वाचनमा सहभागी हुने वातावरण बनाए।
पहिलो चरणको निर्वाचन सफलतापूर्वक गराएर कांग्रेसलाई सत्ता हस्तान्तरण पनि गरे। प्रचण्डले त्यति बेला आफूलाई इमान भएको नेताका रूपमा प्रस्तुत गरे। सतहमा इमानजस्तै देखिए पनि यसभित्र असंख्य रणनीति लुकेको थियो। जुन कुरा त्यतिबेला कांग्रेस र एमालेका नेताहरूले बुझ्न सकेनन्। अझै पनि बुझ्न सकेका छैनन्। कहिले बुझ्ने हुन् त्यसको संकेत पनि छैन।
सहमतिअनुसार दोस्रो चरणमा कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री बने। उनले दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचन गराए। संविधान कार्यान्वयनको महत्त्वपूर्ण कार्यभार संघ र प्रदेशको निर्वाचन गराउने जिम्मेवारी पनि देउवा सरकारले पूरा गरेको थियो।
देउवा चुनावको तयारीमा तल्लीन थिए। सुरक्षा चुनौतीका बीच चुनाव मिति घोषणा भइसकेको थियो। उता देउवाकै क्याबिनेटका मन्त्री प्रचण्डको इसारामा वाम गठबन्धन बनाउने रणनीति बनाउँदै थिए। यसमा प्रधानमन्त्री देउवा बेखबर थिए। माओवादी अध्यक्ष फेरि देउवाको ढाडमा टेकेर ओलीको टाउकोमा प्रहार गर्न सफल भए।
कांग्रेसलाई ढाडको दुखाइ त्यो बेला जानकारी भयो जब सञ्चारमाध्यमले वाम गठबन्धनमा सहमतिका समाचार प्रकाशित हुन थाले। त्यति बेला पनि प्रचण्डले उथलपुथल ल्याइसकेका थिए। प्रधानमन्त्री देउवा पनि के कम! माओवादीका मन्त्रीहरूलाई बिनाविभागीय बनाइदिए। कांग्रेस र माओवादीका नेताका बीचमा वाक्युद्ध सुरु भएको थियो।
कांग्रेस नेतृत्वमा भएको २०७४ को निर्वाचनमा वाम गठबन्धनका अगाडि कांग्रेसले लज्जास्पद हार बेहोर्नुपरेको थियो। वाम गठबन्धन लगभग दुई तिहाइ नजिक पुगेको थियो।
चुनावपछि प्रचण्ड र ओलीबीच पहिलो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति भयो। त्यही सहमतिअनुसार ओली प्रधानमन्त्रीमा नियुक्त भए। कम्युनिस्ट एकता गराएर लामो समय वाम गठबन्धनको शासन सत्ता चलोस् भन्ने शुभेच्छाका साथ ‘ओली-प्रचण्ड’ गठबन्धन बनाइएको थियो। यसलाई वाम गठबन्धन भन्नु कम्युनिस्टका सिन्द्धात र आदर्शको विपरीत हुन्थ्यो। दुवै जना समाजवादीभन्दा पुँजीवादीको घोडामा सवार भएर दौडिरहेका थिए र छन्।
०७५ साल जेठ ३ गते ओली र प्रचण्डले सिद्धान्तविहीन पार्टी एकता गरेका थिए। नाम थियो नेपाल कम्युनिस्ट पार्टी। पुँजीवादी जीवनशैलीका प्रायः सबै सुविधा भोगी दुवै नेताले हामी कम्युनिस्ट हौँ भनेर जनतालाई ढाँटे। कम्युनिस्ट पार्टीमा समानान्तर दुई अध्यक्ष भए। एकजना प्रचण्ड जसले आजीवन ढाँटको राजनीति गर्दै आइरहेका छन् र अर्का ओली जो राजनीतिक धुर्त्याइँमा खप्पिस छन्।
ओली र प्रचण्डबीचको एकतालाई कतिपय बुद्धिजीवीले समाजवादतर्फको यात्रा भनेर भ्रम सिर्जना गर्न खोजे। उनीहरूको यात्रा न कुनै समृद्धिको दिशातर्फ थियो न त समाजवादतर्फ यात्रा। यो त फगत सत्ताका दुई व्यापारीका सौदाबाजी थियो। जसमा बलियो साथ दिएको थियो उत्तरी छिमेकी चीनले।
नेपालको राजनीतिमा विदेशीले यसरी पार्टी नै बनाइदिएको पहिलो घटना थियो। त्यसको स्पष्ट प्रमाण तत्कालीन चिनियाँ राजदूत यान्छीका गतिविधि र अभिव्यक्ति हुन्। चिनियाँको चासो रहे पनि कम्युनिस्ट पार्टी टिक्न सकेन। कम्युनिस्ट खोल ओढेका पुँजीवादी प्रचण्ड र ओलीबीच एकता गराएर चिनियाँ राजदूतले गरेको नेताहरूको घरदैलो कूटनीतिका सामान्य सिद्धान्तविपरीत थियो।
चिनियाँले नबुझेको कुरा के थियो भने नेपालका कम्युनिस्ट नेताहरू सत्ताका लागि जोसुकैसँग सम्झौता गर्न सक्छन्। नेपालका वामपन्थी दलका नेता पैसा र शक्तिको गुलाम हुन्छन् भन्ने बुझ्न नसक्दा चिनियाँहरू असफल भए। त्यही असफलताले ओली र प्रचण्डबीच फाटो बढ्दै गयो। ओलीको गुनासो थियो- काम गर्न दिएनन्। प्रचण्ड भन्थे- पेलानमा पारेर हामीलाई सक्न खोजे।
ओली र प्रचण्डबीचको टकरावको उपज संसद् विघटन भयो। प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको सिफारिस राष्ट्रपतिद्वारा अनुमोदन भयो। असंवैधानिक कदम भन्दै अन्य राजनीतिक दलहरू सर्वोच्च गुहार्न पुगे। सर्वोच्चले संसद् पुनःस्थापित गरिदियो। ओलीले ३० दिनभित्र विश्ववासको मत लिनुपर्ने भयो।
सर्वोच्चकै आदेशले नेकपा पनि पूर्ववत् अवस्था (एमाले र माओवादी केन्द्र) मा फर्कियो। उथलपुथलका नायक ‘प्रचण्ड’ ले ‘दिउँसै रात पारेको’ अभिव्यक्ति दिए। नेकपालाई नै उपयोग गरी प्रधानमन्त्री बन्ने प्रचण्डको योजना पूरा हुन पाएन।
बूढानीलकण्ठस्थित निवासमा मस्त रमाइरहेका कांग्रेस सभापति देउवाको राजनीतिक बजारभाउ रातारात बढेर गयो। संसद्मा ६३ सिट भएको कांग्रेस सभापति देउवाको घरमा प्रचण्ड ,माधव नेपाल र उपेन्द्र यादव जम्मा हुन थाले। संविधानरक्षाका लागि नेपाली कांग्रेस अग्रसर हुनुपर्ने उनीहरूको माग थियो। सर्वोच्च अदालतको परमादेशबाट सभापति देउवा प्रधानमन्त्री नियुक्त भए। एमाले पनि माधव नेपालको नेतृत्वमा विभाजनका लागि तयार भइसकेको थियो।
प्रचण्डकै डिजाइनमा संविधानरक्षाको भाष्य रचना गर्दै पाँच दलीय गठबन्धन निर्माण भएको थियो। उनले देउवाको काँधमा बन्दुक राखेर ओलीका प्रत्येक रणनीति असफल बनाउन कांग्रेसलाई प्रयोग गरे। २०७९ सालमा स्थानीय, प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएर चुनाव लड्ने प्रस्ताव गरे। लगभग समाप्त हुन लागेको पार्टी माओवादीले नेपाली कांग्रेसकै मद्दतमा पुनर्जीवन पायो। संघमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट जित्न सफल भयो।
त्यही ३२ सिट जितेका पार्टीका नेता प्रचण्डले दुई ठुला दल कांग्रेस र एमालेलाई मात खुवाउँदै २०७९ पुस १० गते प्रधानमन्त्रीमा दाबी गरिदिए। संसद्को सबैभन्दा ठूला दल कांग्रेसले पनि प्रधानमन्त्री दाबी गरेको थियो। संविधान रक्षाको भाष्य निर्माण गरेर बनेको गठबन्धन प्रधानमन्त्रीको कुर्सीमै निहित रहेको जगजाहेर भयो। प्रचण्डको यात्रा फेरि ओली निवास बालकोटतर्फ सोझियो। जुन निवासलाई ओली प्रतिगामी शक्तिको निवास भनेर चित्रण गर्थे। प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बने। उनले फेरि उथलपुथल ल्याइसकेका थिए। कांग्रेस संसद्को ठूलो दल भएर पनि आत्मग्लानि र आत्मनिन्दामा डुबेको थियो।
प्रचण्डलाई पुनः आफ्नो कित्तामा ल्याउन कांग्रेस नेताहरूलाई कडा मेहनत गर्नुपरेको थियो। त्यो मेहनतले राष्ट्रपति निर्वाचनमा रङ ल्यायो। प्रचण्डले दुई महिनामै एमालेलाई ‘लात हानेर’ गठबन्धन भत्काउँदै कांग्रेस नेतृत्वको पुरानो गठबन्धनलाई ब्युँत्याएका थिए। चिनियाँ उपमन्त्रीको दौडले पनि वाम गठबन्धनको संकेत गरिरहेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीका टोलीले प्रचण्डमाथि कम्युनिस्ट एकताको दबाब दिइरहेको जगजाहेर छ। चिनियाँ राजदूतको नेपालमा चलखेल कसैसँग लुकेको छैन।
नेपालमा पुनः ओली र प्रचण्डको मिलन गराएर केही शक्ति केन्द्र चियर्स गर्दै होलान्। प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्नुका अनेक कारण देखाए पनि भित्री कारण नेपालमा हुन लागेको लगानी सम्मेलन र यसमा चिनियाँ व्यापारीको निहित स्वार्थ हुन्। प्रचण्ड र ओली आलोपालो गरी प्रधानमन्त्री बनेर मुलुक चलाउने योजना बुन्दैछन्। बीआरआईको ऋणमार्फत देशलाई श्रीलंका बनाउने सपना देखिरहेका छन् उनीहरू। यो निश्चित छ, नेपाली जनता गठबन्धनको सरकारविरुद्ध सडकमा उत्रनेछन्। मुलुकको बृहत्तर हितमा लोकतान्त्रिक शक्ति एक हुनेछ।
हिंसात्मक विद्रोहका बेला प्रचण्ड तत्कालीन दरबारलाई टाउको ठान्थे। अन्य शक्तिलाई ढाडका रूपमा उपयोग गर्ने रणनीति उनको हुन्थ्यो। अहिले दरबार छैन। कांग्रेस–एमाले जस्ता राजनीतिक शक्ति छन्। दुई राजनीति शक्तिमध्ये कांग्रेस-एमालेलाई प्रचण्ड बिरालोले मुसो खेलाएजसरी खेलाउँदैछन्। सकेसम्म उनी यसरी नै खेलाउन चाहन्छन्। अन्यथा हिंसाको भाषामार्फत नागरिकलाई तर्साइरहन्छन्। देशको कार्यकारी पदको कुर्सीमा बसेर पनि विद्रोही नेताजसरी लात्ताले हान्ने कुरा गर्छन्। आफू नमर्दासम्म देशमा उथलपुथल ल्याइरहने अभिव्यक्ति दिन्छन्। लात्ताले हान्ने अभिव्यक्तिबाट मुक्त पाउन र उथलपुथलबाट बच्न जतिसक्दो छिटो प्रचण्ड नेतृत्वको सरकार बहिर्गमन हुनैपर्छ। देशलाई कंगाल हुनबाट जोगाउन पनि प्रचण्ड सत्ताबाट नागरिकले चाँडै मुक्ति पाउनुपर्छ।
[कर्ण नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन्।]