देवदहमा बौद्ध विश्वविद्यालयको एक खर्बको परियोजना

हिमाल प्रेस २८ फागुन २०८० २०:४६
58
SHARES
देवदहमा बौद्ध विश्वविद्यालयको एक खर्बको परियोजना तस्बिर : विनोद परियार

लुम्बिनी– लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब १ खर्बको परियोजना सञ्चालन गर्ने भएको छ। देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन गर्दै परियोजना सुरुवात गरेको हो।

भवन उद्घाटन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताए। बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्त्वपूर्ण रहेको भन्दै यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने उनले बताए।

बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संशोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै उनले विश्वविद्यालयलाई मुलुककै नमुना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताए।

विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा एक खर्बको परियोजना सुरु भएको भन्दै उनले त्यो परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको उल्लेख गरे। विश्वविद्यालयको देवदहमा जग्गा व्यवस्थापनमा रजिष्टरसहितका पदाधिकारीहरुले गरेको मिहनेतको उनले प्रशंसा गरे।

पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्माले देवदहकै विशाल पूर्वाधार निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताए। देवदहबासीका लागि देवदह शैक्षिक ग्रामका रुपमा स्थापित हुने भन्दै यसको निर्माण सम्पन्न हुँदा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्ने उनले बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्नेगरी सुविधा सम्पन्न संरचना निर्माण गरिने बताए। विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताए।

विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको बताए।

देवदहमा ९२ बिघा जमिन प्राप्तिका लागि ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै उनले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिबद्धता पूरा गर्दै लगिने बताए।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राईले देवदहबासीले दिएको जमिनमा पूर्वाधार निर्माण सुरु भएको भन्दै खुसी व्यक्त गरे।

विश्वविद्यालय सभाका सदस्य कपिल लामाले बौद्ध शिक्षासहितका कार्यक्रम सञ्चालन गरी विद्यार्थी संख्या बढाउदै लैजानुपर्ने बताए। डिन कार्यालयका कार्यकारी निर्देशक उकेशराज भुजुले समुदायलाई जोड्दै विश्वविद्यालयले देवदहमा शैक्षिकसहितका कार्यक्रम सञ्चालन गरिरहेको बताए।

विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहलय, गेस्ट हाउस भिल्लासहितका संरचना बन्नेछन्। रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ। पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रस्टी बनाउने जनाएको छ।

उद्घाटन गरिएको भवन झण्डै सबा सात करोडको लागतमा आठ महिनामा तयार भएको हो। एक वर्ष निर्माण अवधि रहे पनि कम्पनीले समयावधि अगावै निर्माण सकेको भन्दै सम्मान गरिएको थियो।

देवदहमा भवन निर्माणसंगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन्। लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० वटा शैक्षिक कार्यक्रम सञ्चालित छन्। विश्वविद्यालयमा २ हजार १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast