
काठमाडौँ–अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशतभन्दा तल झरेको छ। अन्तरबैंक ब्याजदर फागुन २० गते २.९१ प्रतिशतमा झरेको राष्ट्र बैकको तथ्यांकमा छ। गत वर्ष पनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा झरेको थियो। गत वर्षभन्दा चालु आर्थिक वर्षको सात महिनामा अन्तरबैंक ब्याजदर घटेको हो।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २० गते बैंकहरूबाट १६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो। फागुन २० सम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। यो अघिल्लो दिनको तुलनामा १६ अर्ब रुपैयाँले बढेको छ।
अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर ३.०३ प्रतिशत थियो। फागुन २० मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६१ खर्ब ७१ अर्ब रुपैयाँ छ। अघिल्लो दिनको तुलनामा निक्षेप २ अर्ब रुपैयाँ बढेको छ। फागुन १९ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ६९ अर्ब रुपैयाँ थियो।
हाल बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप बढिरहेकोको राष्ट्र बैकका प्रवक्ता डा.गुणकर भटट्ले जानकारी दिए। उनका अनुसार अन्तरबैंक ब्याजदर समेत तल झरेको छ। अहिले बैंकमा निक्षेप बढेपनि कर्जा प्रवाह बढ्न नसक्दा अन्तरबैंक ब्याजदर समेत घटेको हो।
वाणिज्य बैंकहरूको निक्षेप पनि फागुन २० मा २ अर्ब रुपैयाँले बढेर ५४ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ५४ खर्ब ५३ अर्ब रुपैयाँ थियो। फागुन २० मा बैंकहरूको औसत सीडी रेसियो ८०.०२ प्रतिशत रहेको छ। अघिल्लो दिन फागुन १९ गते औसत सीडी रेसियो ७९.८० प्रतिशतमा झरेको थियो।