हिमपातसहितको वर्षाले सोलुखुम्बुका किसान हर्षित

हिमाल प्रेस ११ फागुन २०८० १०:५७ | Friday, February 23, 2024
हिमपातसहितको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सोलुखुम्बु- हिमपातसँगै बिहीबार परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन्। लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन्।

हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताए। उनले भने,‘हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु।’

तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताए। उनले भने,‘हिजोको वर्षाले किसानमा खुसी ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ,अब पानी पर्ने छाँटकाँट देखिन्न,अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन्।’ वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ।

हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन्। खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताए।

उनले भने,‘बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्,अब अलि सुक्खापना हट्छ कि? यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन्।

प्रकाशित: ११ फागुन २०८० १०:५७ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast