काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मका पक्षमा उभिन प्रस्ताव पेस गरिएको छ। नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन्। प्रस्ताव पेस गर्नेमा केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेता छन्।
कांग्रेसजस्तो व्यापक जनआधारमूलक प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरेको प्रस्तावमा उल्लेख छ।
यसैगरी उनीहरूले राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको उल्लेख गरेका छन्।
वैदिक सनातन हिन्दु राष्ट्र नेपाल कायम गर्न त्रिवेणी धाममा भएको महासमिति बैठक र काठमाडौँमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दु राष्ट्रको माग गर्दै प्रस्ताव पेस गरेको विषय पनि उनीहरुले स्मरण गराएका छन्।
फागुन ७ गतेदेखि हुने महासमिति बैठकका सन्दर्भमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्मजस्तो बहुमत महासमिति सदस्यको भावना र आमनेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएकोप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
उनीहरूले भनेका छन्, ‘महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दु राष्ट्रका पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावका रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेस गरेका छौँ।’
उक्त प्रस्तावमा नेताहरू शंकर भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादवले हस्ताक्षर गरेका छन्। यस्तै केन्द्रीय सदस्यहरू नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा. डिला संग्रौलाले पनि हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका छन्।
यस्तै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मका पक्षमा हस्ताक्षर गरेका छन्।