
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन्। माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन सकिएपछि पार्टीको पदाधिकारी बैठक बसेको थियो।
बैठकलगत्तै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउन महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्नेमा विश्वास व्यक्त गरे।
विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचार अझ बढी केन्द्रित र संश्लेषित हुने बताए। उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए। अध्यक्ष प्रचण्डले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहबाट सुझाव संकलन गरिएको थियो।
प्रज्ञा प्रतिष्ठानमा सुरु अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। बुधबार १३ समूहबाट र बिहीबार सात टोलीबाट सुझाव प्रस्तुत गरिएको थियो।
विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी समूहबाट खसआर्यलाई हटाउनुपर्नेलगायतका सुझाव प्रस्तुत गरिन्।
नेता प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउने गरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए। नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र काम कारवाहीमा एकरूपतामा राख्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए।
केन्द्रीय सदस्य कृष्णध्वज खड्काले पार्टीमा वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव पेस गरेका थिए।