अन्तर्राष्ट्रिय सम्मेलनका लागि १५० देशका उपकुलपति नेपाल आउँदै

हिमाल प्रेस २ फागुन २०८० ९:४३
30
SHARES
अन्तर्राष्ट्रिय सम्मेलनका लागि १५० देशका उपकुलपति नेपाल आउँदै काठमाडौँ विश्वविद्याल

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले भोलि बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’को आयोजना गरेको छ। केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो।

नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको केयूका उपकुलपति प्रा डा भोला थापाले जानकारी दिए।

उनका अनुसार भारतीय विश्वविद्यालय संघको आयोजना एवं काठमाडौँ विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बंगलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ।

सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर-विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति प्रा डा थापाले बताए।

सम्मेलनमा दुई सय २७ सहभागीले सहभागिता जनाउने निश्चित गरेको विश्वविद्यालयले जनाएको छ। सम्मेलनमा अधिकांश सहभागी भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन्।

सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणबारे नयाँ खोज-अनुसन्धान, अन्तर्राष्ट्रिय सहयोग तथा अनुभाव आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ।

केयूको प्रवक्ता एक्कुमाया पुनले सम्मेलनमा उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिबारे छलफल, देश-देशका विद्यार्थीबीच अनुसन्धानका अनुभव तथा पाठ्यक्रम विकाससहितका विषयमा समेत बृहत् छलफल हुने बताइन्।

यस्तै सम्मेलनमा उच्च शिक्षामा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका विषयमा विज्ञ-विशेषज्ञबाट अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदा, उच्च शिक्षाको विश्वव्यापी नीति, नियमन तथा समान मानक, विद्यार्थी गतिशीलता र त्यसको विविधतामा अन्तर्राष्ट्रिय अनुभवका बारे कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।

साथै सम्मेलनमा नेपाल चिनाउन विभिन्न जातजातिको सांस्कृतिक झाँकी, नेपाली संगीत चिनाउन केयू स्कुल अफ आर्टस्का साथै कुटुम्ब ब्याण्ड तथा नेपाल प्रहरीको सांस्कृतिक टोलीले नेपालको सातै प्रदेश, हिमाल, तराई, पहाडको नाचगान र संस्कृतिबारे नेपाली लोकबाजा प्रस्तुति रहेको जनाइएको छ।

केयूले यसअघि पुस दोस्रो साता एकेडेमिया इण्डष्ट्री को-ओपरेशनले ‘एकेडेमिया इण्डष्ट्री मिट-२०२३’ को आयोजना गरेको थियो।

नेपालमा पहिलोपटक आयोजना गरेका उक्त मिटमा सरकार, उद्योग र प्राज्ञिक संस्थालाई एकै छातामुनि आबद्ध गराई देश विकासमा सहकार्य गर्ने उद्देश्यले तीन क्षेत्रका बौद्धिक व्यक्तित्वलाई मिटमा सहभागी गराएको थियो।

उक्त कार्यक्रममा देशको शिक्षा, उद्योग र नीति-निर्माणमा रहेका विद्यमान समस्याको पहिचान गरी समाधान, अनुसन्धान र उद्योगबीच सहकार्य बढाउँदै औद्योगिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा राज्यको नीतिलाई रोजगारमुखी र औद्योगिकमैत्री बनाउने विषयमा बृहत् छलफल तथा अन्तक्र्रिया भएको थियो।

उपकुलपति प्राडा थापाका अनुसार उक्त सम्मेलनमा पछिल्लो समय नेपालको उच्च शिक्षामा देखापरेको समस्या, चुनौती तथा विद्यार्थीको बाहिरिँदो क्रमलाई रोक्न र रोजगार सिर्जनाका लागि नयाँ विकल्पबारे महत्त्वपूर्ण छलफल भएको बताए। उनका अनुसार यस्तो सम्मेलनलाई आवश्यकतानुसार निरन्तरता दिइने योजना बनाइएको छ। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast