
काठमाडौँ- झापाका पुण्यप्रसाद रिजाल देशमा राजतन्त्र फर्कनेमा आशावादी देखिन्छन्। झापाबाट मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियान कार्यक्रमका लागि काठमाडौँ आएका उनले भने, ‘अहिलेको राजनीतिक गतिविधि देख्दा राजतन्त्र आवश्यक छ। जनताले पनि बिस्तारै राजा नै ठिक हो भन्न थालेका छन्।
प्रजातन्त्र र लोकतन्त्रका नाममा जनताको नाम बेचेर धेरै राजा उत्पन्न भएको रिजालले बताए। उनले त्यस्ता राजाले देशलाई लुट्ने मात्र काम गरेको बताए। ‘देशको अवस्था नाजुक हुँदैछ। युवा छैनन्। बुढाखाडाले मात्र विकास गर्न सम्भव छैन। नेता बुढाखडा र जनता पनि उस्तै। अनि देश कसरी बन्छ त?’ भृकुटीमण्डपमा भेटिएका रिजालले हिमालप्रेससँग भने। नेपालमा जति विकासका योजना राजतन्त्रकै बेला भएको दाबी छ।
पोखराका ६१ वर्षका ओमबहादुर कार्कीलाई पनि राजतन्त्र नै ठिक लाग्न थालेको छ। राजतन्त्रमा जनतासँग सीमित अधिकार भए पनि देशभित्रै केही गर्नुपर्छ भन्ने थियो। लोकतन्त्र आएपछि जनता विदेश मात्र थालेको उनी बताउँछन्। उनले भने, ‘राजनीतिका कारण देशको माया जनतामा हराउँदै गएको छ। अर्थतन्त्र विदेशीको हातमा पुगेकाले आजको दिन देख्नुपरेको हो।’
नवलपरासीका कृष्णकुमार श्रेष्ठ पनि दलहरूप्रति आक्रोशित छन्। राजतन्त्र फर्किन्छ भन्ने विश्वासका साथ काठमाडौँ आएका उनले भने, ‘देशमा राजा चाहिन्छ भन्ने अहिले सबै जनतालाई लागेको छ। मलाई पनि राजा आउने विश्वास छ।’ लोकतन्त्रका नाममा जनतामाथि विश्वासघात भएको उनको भनाइ छ। ‘राजतन्त्र जनताले फ्यालेको होइन, केही सीमित नेताले राजतन्त्र फ्यालेका थिए। अब जनताले राजतन्त्र ल्याउँछन्’, उनले भने।
कास्कीका याम तिम्सिना पनि दर्गा प्रसाईका एजेन्डा ठिक लागेर पोखरादेखि काठमाडौँको कार्यक्रममा आएको बताउँछन्। उनले भने, ‘जनताले दुःख पाएका छन्। त्यही भएर अहिले जनता राजतन्त्रको पक्षमा खुलेर लाग्न थालेका छन्।’ सहरभन्दा गाउँमा राजतन्त्रको माग र चर्चा बढी भएको उनको दाबी छ। ‘सहरका जनताले दुःख पाएका छैनन्। त्यही भएर अहिलेको समस्या राम्रो बुझ्ने मौका पाएका पनि छैनन्। जब गाउँजस्तै सहर रित्तिन्छ अनि थाहा पाउँछन्’, उनले भने।
स्थानीय सरकारले वास्ता नगरेपछि युवा जति वैदेशिक रोजगारीमा जान बाध्य भएको उनले जानकारी दिए। उनले भने, ‘गाउँघरमा मलामी पाइँदैन। जमिन बाँझो छ। उत्पादन शून्यतिर पुग्न लाग्यो।’
गत वर्षको फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार वार्षिकोत्सव मनाइरहेको छ।
प्रसाईंले ‘भ्रष्टाचारी’, ‘तस्कर’ आदि विशेषण दिएर केही व्यक्तिको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको बताए। उनका अनुसार यसरी नाम घोषणा गरिनेमा १६ जना व्यापारी र बाँकी दलका नेता छन्। प्रसाईले गत वर्षदेखि देशव्यापी रुपमा महाअभियान चलाउँदै आएका छन्।