जीबी राई
पोखरा- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा मुख्य आरोपी संस्थापक अध्यक्ष जीबी राई विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ।
उक्त मुद्दामा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार यो नोटिस जारीपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा आरोपी भए वा नभएको लोकेट हुनेछ। त्यसपछि नेपाल ल्याउने प्रक्रिया हुनेछ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै केही समयअघि पत्राचार गरेको थियो। सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर, पूर्वअध्यक्ष भुपेन्द्र राई र शिवबहादुर गुरुङ विरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको थियो। तीमध्ये शिवबहादुर आफै अदालतमा उपस्थित भएका थिए। बाँकी दुईको भने इन्टरपोलमा नोटिस जारी भइसकेको छैन।
उक्त सहकारी ठगीमा १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।
उक्त मुद्दामा शिवबहादुर गुरुङसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा छन्। त्यसबाहेक अझै १५ जना प्रतिवादी फरार सूचीमा छन्।
जसमा जीबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ हुन्।
सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो। ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी उजुरी दिन आग्रह गरेकोमा थियो । तर १ हजार ३६ जनाले मात्र उजुरी दिएका थिए।


