पर्वत- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन्।
नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई आज (सोमबार) पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताए।
नेता तथा कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो। ठूलो त्याग र बलिदानपछि आज (सोमबार) नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको बताउँदै देउवाले एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताए।
ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भने, ‘निरन्तर लाग्ने नेताहरू अवसरबाट वञ्चित हुन पर्दैन।’ उनले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
‘अहिलेको अवस्थामा हाम्रा साथीहरूबीच मेलमिलाप हुन जरुरी छ। अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ,’ उनले भने, ‘आज जित्नेले पनि भोलि सधैँ जितिरहन्छ भन्ने हुँदैन। जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ।’ रासस