काठमाडौँ- कहिल्यै समाधान नहुने समस्याका रूपमा स्थापित छ, सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स। सरकारले अनेकन् प्रयास गरे पनि गुनासो आउन छाडेको छैन। समाधानका अनेकन् उपाय अवलम्बन गरिए पनि सुधार भने भएको छैन।
हरेक दिन सवारी चालक अनुमति पत्र छपाइका लागि चार हजारभन्दा बढी माग आउने गरेको स्वयं यातायात व्यवस्था विभागले जानकारी दिने गरेको छ। प्रतिक्षासूचीमा मात्रै १४ लाख ४० हजारभन्दा बढी छ। सवारी चालक अनुमतिपत्र छपाइ गर्ने उपकरण, कार्डको उपलब्धता गराउन नसकिएको, कार्डको काम गर्ने जिम्मा पाएको व्यवसायीले समयमा काम नगरेको अवस्था पनि छ।
नागरिकस्तरबाट गुनासो बढ्दो छ। सरकारी निकाय आफैँ जवाफ दिन सक्ने अवस्थामा छैन। पछिल्लो पटक ६ लाख कार्डको जोहो भएको छ। यस्तै, ६ लाख थान कार्ड आउने प्रक्रियामा छ। त्यसो हुँदासमेत दुई लाखले अझै सवारी चालक अनुमतिपत्र नपाउने अवस्था छ।
सवारी चालक अनुमतिपत्रको काम प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुमतिपत्र कार्यालयले गरिरहेका छन्। यद्यपि अधिकार बाँडफाँटमा अझै समस्या छ। कतिपयलाई त यो काम प्रदेश सरकार मातहतका निकायले गर्छ भन्ने थाहा छैन।
नक्कली सवारी चालक अनुमतिपत्रको बिगबिगी पनि उस्तै छ। सवारी चालक अनुमतिपत्र प्रदान गर्ने निकायको प्रणालीभित्र नै प्रवेश गरेर नक्कली चालक अनुमतिपत्र बनाएको गुनासो पनि यसबीचमा व्यापक मात्रामा आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसबारे छानबिन गरेको छ।
ती समस्या समाधानका लागि आज मन्त्रालयले प्रदेशका यातायात हेर्ने मन्त्री, सचिवसहित सरोकारवाला निकायबीच छलफलको आयोजना गरेको थियो। छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट ठोस पहल भइरहेको दाबी गरेका छन्।
‘लामो समयदेखि गिजोलिएको समस्या समाधान गर्न लामो समय लाग्छ। त्यसका लागि हामीले योजनाबद्ध प्रयास थालेका छौँ। आशा गरौँ, समस्याको समाधान हुन्छ,’ उनले भने।
सवारी चालक अनुमतिको प्रतिक्षामा दुई वर्षभन्दा बढी समय प्रतीक्षा गर्दा सर्वसाधारणले पाउन सकेका छैनन्। सरकारको प्रणालीमा नै बिचौलियाले अनाधिकृत प्रवेश गरी झण्डै एक लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र नक्कली बनाएको पाइएको छ। सो विषयमा आवश्यक छानबिन भइरहेको भौतिक पूर्वाधार तथा यातायातामन्त्री ज्वालाको भनाइ छ। उनले दोषी देखिएका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताए।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार नक्कली सवारी चालक अनुमतिपत्र बनाउने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइनेछ। उनले विभाग, अख्तियार दुरुपयोग अनुसनधान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्यससम्बन्धमा छानबिन गरिरहेको जानकारी दिए। ‘अहिले नै के कति मात्रामा नक्कली हो भन्न सकिने अवस्था छैन। यद्यपि हामीले आवश्यक छानबिन गरिरहेका छौँ। त्यसमा दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउनैपर्छ,’ उनले भने।
सवारी दुर्घटनामा पारेका चालकका नाममा रातारात नक्कली अनुमतिपत्र बनेर आएको पाइएको उनले जानकारी दिए। ‘कुन कार्यालयबाट कसरी नक्कली अनुमतिपत्र बनेको छ भन्ने खुल्दै जानेछ। तथ्यांक कुनै एक ठाउँबाट हटाए पनि अर्को ठाउँमा गएर बस्ने गरेको छ। त्यो प्रहरी र आयोगले अनुसन्धान गरेर पत्ता लगाउनेछ। त्यसबाट को–को दोषी हुन भन्नेसमेत पत्ता लाग्नेछ,’ उनले भने। परीक्षा नै नदिई अनुमतिपत्र बनाएको, अरूकै नाममा लिएको पाइएको उनको भनाइ छ। रासस


