सरकार छाड्ने मनस्थितिमा जनमत

हिमाल प्रेस ७ माघ २०८० १३:३७
8
SHARES
सरकार छाड्ने मनस्थितिमा जनमत

काठमाडौँ- जनमत पार्टी सरकार छाड्ने मनस्थितिमा पुगेको छ। सत्ता घटकका मुख्य दल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्बन्ध चिसिएपछि सँगै बस्न सक्ने अवस्था नरहेको जनमत पार्टीका एक नेताले बताए। सत्ताबाट बाहिरिने विषयमा पार्टीले औपचारिक निर्णय भने गरेको छैन। संघीय सरकारमा जनमतकी अनितादेवी साह संघीय मामिला तथा स्थानीय विकासमन्त्री छन्।

प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा भाग नदिएको आरोप जनमतका नेताहरूको छ। उनीहरूका अनुसार सत्ता सञ्चालनका लागि हुने गठबन्धनको बैठकमा जनमतलाई बोलाउन छाडिएको छ। प्रधानमन्त्रीले आफ्नो दललाई गठबन्धनभित्रै असमान व्यवहार गरेका कारण सत्तामा बस्न सक्ने अवस्था नरहेको जनमत पार्टीका सचिव बीपी साहले बताए। उनले भने, ‘प्रधानमन्त्रीले हाम्रो दललाई वास्ता गरेको देखिएन। उहाँको गतिविधि हेर्दा हाम्रो दल सत्ताबाट बाहिरियोस् भन्ने छ। हामीले यसबारेमा केही भनेका छैनौँ।’

सत्ताको प्रमुख घटक माओवादी केन्द्रका नेताहरू जनमतले गठबन्धनभित्रै समानान्तर गतिविधि बढाएको आरोप लगाउँछन्। उनीहरूका अनुसार जनमतले चुनावी क्रियाकलापमा गठबन्धनलाई असहयोग गरेको छ।  जनमतले माघ ११ का लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनविरुद्ध  उम्मेदवार खडा गरेको छ। मधेश प्रदेशमा जनमतका आफ्नै उम्मेदवार छन्।

उपराष्ट्रपति चुनावमा पनि गठबन्धनविरुद्धको उम्मेदवार जनमतले खडा गरेको थियो। सत्ता गबठन्धनले रामसहायप्रसाद यादवलाई उठाउँदा जनमतले ममता झालाई उपराष्ट्रपतिमा उठाएको थियो।

माओवादी नेताहरू मन्त्री साह र जनमत अध्यक्ष राउत सरकारविरुद्ध लागेको आरोप लगाउँछन्। ‘कहिले निषेधित क्षेत्र तोड्ने त कहिले अनशन बस्ने काम भयो,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘सरकारविरुद्ध नै अपवाह फैलाउने काम भएको छ।’ मधेश सरकारविरुद्ध पनि जनमत लागेको सत्ता गठबन्धनको आरोप छ। जनमत मधेश प्रदेशको सरकारमा सहभागी छ।

जनमत सरकारमा दिगो गरी रहन सकेको छैन। यही सरकारको सुरुवातमा जनमत सहभागी थियो। जनमतका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री थिए। आफूले मागेअनुसारको मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।  स्थानीय विकासमन्त्री पाएपछि जनमत फेरि सरकारमा गएको हो। संघीय संसद्‌मा जनमतको  ६ सिट छ।

प्रकाशित: ७ माघ २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast