राष्ट्रियसभा निर्वाचनमा मत बिगारे नियत खराब भएको बुझिनेछ : मन्त्री गुरुङ

हिमाल प्रेस ५ माघ २०८० २१:२४ | Friday, January 19, 2024
राष्ट्रियसभा निर्वाचनमा मत बिगारे नियत खराब भएको बुझिनेछ : मन्त्री गुरुङ

स्याङ्जा– कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाएर पाँच वर्ष अगाडि बढाउने बताएका छन्।

सत्तापक्षीय गठबन्धन दलतर्फका साझा उम्मेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज (शुक्रबार) स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्त्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताएका हुन्।
‘गठबन्धन चानचुने ढंगले अगाडि बढेको छैन,’ उनले भने, ‘यो गठबन्धनलाई देख्दा अरूलाई इष्र्या, जलन भएको होला, यतिमा मात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ।’

गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिबाट सहजतातर्फ ल्याएको दाबी गर्दै उनले मुलुकको समृद्धि र सुशासनका लागि पनि गठबन्धनले निरन्तरता पाउने बताए।

‘कुनै पनि साथीले मत नबिगार्नुहोला, मत हाल्न जानिनँ भन्न पाइने छैन, त्यसो गरेमा जानीजानी नियत खराब भएर बिगारेको भन्ने बुझिन्छ,’ उनले भने, ‘गठबन्धनका साथीहरूलाई मत दिएर विजयी बनाउनुहोला, एकमतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ।’

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र नेकपा ९माओवादी केन्द्र०बाट मनरुपा शर्मा उम्मेदवार छन्।

माघ २ गते नवलपुरदेखि सुरु भएको प्रचारात्मक अभियान आज स्याङ्जा आइपुगेको हो। अभियान नवलपुर, गोरखा, लमजुङ, तनहुँ हुँदै स्याङ्जा आइपुगेको राष्ट्रियसभा सदस्य निर्वाचन व्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद लामिछानेले बताए।

प्रकाशित: ५ माघ २०८० २१:२४ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast