यती एयर दुर्घटनाको एक वर्ष : स्मृति स्तम्भमा भक्कानिए आफन्त

हिमाल प्रेस १ माघ २०८० २०:०९ | Monday, January 15, 2024
यती एयर दुर्घटनाको एक वर्ष : स्मृति स्तम्भमा भक्कानिए आफन्त

पोखरा- गत वर्ष माघ १ गतेकै दिन पोखरामा भएको यती एयर दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तहरू आज (सोमबार) दुर्घटनास्थल सेती खोंच पुगे। सामूहिकरूपमा शान्तिपूजा गर्दै उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गरे। तर कसैको पनि आँखा ओभानो थिएन। सबै भक्कानिए।

दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिकाको पहलमा स्मृति स्तम्भ निर्माण गरिएको छ। उक्त स्तम्भमा ५७ नेपाली र १५ विदेशीको नाम अंकित छ। उक्त स्तम्भ अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोही ठाउँमा झोलुंगे पुल र पार्क निर्माण गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘दुर्घटना उत्सव होइन। सम्झिरहँदा पनि मन पोल्छ तर स्मृति सकिँदैन। उहाँहरूको स्मृतिमा पोखरा महानगरले झोलुंगे पुल र पार्क निर्माण गर्दैछ।’ उनले स्तम्भसहित वरपर तारबार गर्न १० लाखको बजेट विनियोजन भएको र काम गरिरहेको उनले बताए।

ठूलो मानवीय क्षति हुने गरी यती एयर दुर्घटनाको एक वर्ष पूरा भएको छ। सिंगो मुुलुकलाई नै स्तब्ध बनाउने गरी गत काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी कल साइनको जहाज विमानस्थल अवतरण गर्नै लाग्दा सेती खोंचमा खसेर दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा परी चालक दलका सदस्य ४ सहित ७२ जना सेती खोंचमा विलय भएका हुन्।

नेपालको हवाई इतिहासमै एटीआर ७२-५०० सिरिजको जहाजको यो पहिलो दुर्घटना थियो। नेपाली हवाई आकाशमा आन्तरिकतर्फको सबैभन्दा ठूलो उक्त दुर्घटनाको दिएको पीडाको घाउ अझै आलै छ। उक्त दुर्घटना मानवीय त्रुटिका कारण भएको हालैमात्र जाँचबुझ आयोगले बुझाएको अन्तिम प्रतिवेदनमा औंल्याइएको छ। तर जेजसो भए पनि मृतकका परिवार र आफन्तका लागि कहालीलाग्दो उक्त घटनाको त्रासदी बरोबर आइरहन्छ।

पोखराकी प्रतिभा अधिकारी अझै पनि श्रीमान् (पत्रकार स्व.त्रिभुवन पौडेल) गुमाएको उक्त घटनाले अझै भक्कानिन्छिन्। ५ वर्षीय छोराको अनुहार हेरेर दिन कटाउँछिन्। उक्त दुर्घटनामा ज्यान गुमाएका त्रिभुवन पौडेल र अनिल शाहीको प्रथम पुण्यतिथि पारेर नेपाल पत्रकार महासंघ कास्कीले सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेको थियो।

सभामा प्रतिभाको आँखा ओभाना थिएनन्। उनीमात्र हैन, उपस्थित सबै पत्रकारको आँखा रसाएका थिए। पत्रकार महासंघका तत्कालीन केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका उपाध्यक्ष पौडेल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष थिए। सबैका प्यारा उनलाई गुमाउँदा सिंगो संचारजगतले एक होनहार पत्रकार गुमाउनुपरेको भन्दै उनको योगदानको स्मरण गरे।

गत वर्ष यही बेला पोखराकै अशोक शाही र उनकी श्रीमती क्यानाडा थिए। छोरा अनिल हवाई दुर्घटनामा परेको अप्रिय खबर अशोकले सामाजिक सञ्जाल फेसबुकबाट थाहा पाउँदा छाँगाबाट खसेझैं भए। अशोकले भने, ‘प्रिय छोरालाई गुमाउनुपर्दा म क्यानाडाबाट कसरी नेपाल आएँ, केही थाहा भएन। अझै पनि लाग्छ, छोरा कतैबाट फुत्त आइहाल्छ कि।’ उदीयमान अनिलले रेडियो एपोस्पल चलाएका थिए।

स्थानीय जमुना बस्नेतलाई गत वर्षको उक्त घटनाको अझै झलझली याद आउँदो रहेछ। भनिन्, ‘साना छोराछोरी थिए, आगोको मुस्लो देख्दा के गरौं र कसो गरौं भयो। सबै जना आत्तियौं। अहिले पनि यतातिरबाट प्लेन घुम्दा डर लाग्छ। विमानस्थल नपुगुञ्जेल हेरिरहन्छौं।’

पोखराका मेयर धनराज आचार्यले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरे। हवाई दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय सजग हुनुपर्नेमा उनको जोड छ।

गठित दुर्घटना जाँच आयोगको प्रतिवेदन अनुसार सो दुर्घटना मानवीय त्रुटि प्रमुख कारक हो भनिएको छ। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले गत १२ पुसमा सोको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको थियो।

दुर्घटनाले मनोवैज्ञानिक असर

गत वर्ष १७ पुस (१ जनवरी) मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए। उद्घाटनको दुई सातामै उक्त दुर्घटना भएको थियो। दुर्घटनाले भने पोखरा विमानस्थलको सुरक्षालाई लिएर प्रश्नचिह्न नै उठ्यो। यात्रु हवाई यात्रा गर्न डराए। दुई–तीन महिनासम्म त विमान कम्पनीले पर्याप्त हवाई यात्रु पाएनन्।

माघ १ गते पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज। फाइल तस्बिर

विमानस्थल प्रवक्ता जशोदा रेग्मीले उक्त दुर्घटनाले पोखराको हवाई यात्रा निकै असुरक्षित छ भन्ने खालको मनोवैज्ञानिक त्रास फैलाए पनि ‘मानवीय त्रुटि’ भन्ने प्रतिवेदनले मानिस विश्वस्त रहेको जनाउँछिन्। उनका अनुसार सन् २०२३ मा यो विमानस्थलबाट ९ लाख ४ हजार यात्रुरुले ओहोरदोहोर गरेका छन्। आन्तरिक उडान पर्याप्त भए पनि गएको वर्ष ४ अन्तर्राष्ट्रिय चार्टर फ्लाइट मात्र भएको थियोे। कोरोनाका कारण विगतमा ह्वात्तै घटेको पोखराको पर्यटक आगमन उक्त हवाई दुर्घटनाले झन् कमजोर बनेको थियो। अहिले भने यहाँको पर्यटनले बिस्तारै लय समातेको पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्।

प्रकाशित: १ माघ २०८० २०:०९ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast