
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्यको निर्वाचनमा पूजा चौधरी (रौतहट)लाई उम्मेदवार बनाउने भएको छ। आज आइतबार बसेको कार्यकारिणी समितिको बैठकले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। चौधरी गत प्रदेशसभा निर्वाचनमा पराजित उम्मेदवार हुन्।
जसपाले मधेश प्रदेशबाट उनलाई उम्मेदवार तय गरेको हो। माघ ११ गते हुने १९ पदको निर्वाचनका लागि सत्ता गठबन्धनले सिट बाँडफाँट गरेका छन्। एक सिट भने राष्ट्रपतिद्वारा मनोनीत हुनेछन्। फागुन २० गते २० राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। भागबन्डामा जसपाको भागमा १ सिट परेको थियो।
भागबन्डामा जसपाले १ सहित, नेपाली कांग्रेसले १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।