काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवमा अतिथि बनेर पुगेका छन्। केही दिनअघि काठमाडौँ आउँदा धरान उपमहानगरपकालिकाका प्रमुख हर्क साम्पाङले बालेनलाई भेटेर निम्तो दिएका थिए।
धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा साम्पाङ र बालेनसँगै देखिएका हुन्।
उक्त कार्यक्रमका लागि धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिको रुपमा निम्तो दिएका थिए। तर, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री आउन नभ्याउने बताएपछि साम्पाङ आक्रोशित बनेका थिए।
साम्पाङले प्रधानमन्त्री आफूले बोलाएको कार्यक्रममा सहभागी हुन नआउने भएपछि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्रीसँगै राष्ट्रपतिको तस्बिर हटाएका छन्। उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन्।
साम्पाङ र बालेन मेयर निर्वाचित भएदेखि नै एक अर्कालाई सहयोग गर्दै आइरहेका छन्।





