झापा- झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ।
१५ लाख ६० हजार नौ सय ६६ रुपैयाँको लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए।
यसका लागि दाताहरूबाट २१ लाख ५२ हजार दुई सय ५६ रुपैयाँ संकलन गरिएको र छ लाख ३१ हजार दुई सय ९० रुपैयाँ बचत समेत भएको संयोजक चेम्जोङले बताए।
हाल पठनपाठन हुँदै आएको किरात भाषा र लिपिको विकास एवं विस्तारमा इमानसिंहको योगदान उच्च छ। तस्बिर चित्रांकित हुलाक टिकट प्रकाशन गरी सरकारले उनलाई राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ।
यसैबीच स्व चेम्जोङको एक सय २१औँ जन्मजयन्तीका अवसरमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले उक्त सालिक अनावरणसमेत गरेको छ।