इटहरी- मोरङको सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका १० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार (आज) बिहान हात्ती मृत फेला परेको हो। सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीका अनुसार मृत फेला परेको हात्तीको पुच्छर भेटिएको छैन। गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताए।
मृतक हात्ती भाले रहेको र अन्दाजी १२ देखि १५ वर्षसम्मको हुनसक्ने उनले बताए। प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको उनले जानकारी दिए। कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अगाडि उनले बताए।
भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा आतंक मच्चाइरहेको छ। हात्तीको आक्रमणबाट गत साउनयता मात्रै झापामा ५, मोरङ र सुनसरीमा १/१ गरी ७ जनाको मृत्यु भइसकेको छ।