बाँकेको बालसुधार गृहमा झडप, हतियारसहित बाहिर छन् ५० बन्दी

हिमाल प्रेस १५ पुष २०८० १९:२७ | Sunday, December 31, 2023
बाँकेको बालसुधार गृहमा झडप, हतियारसहित बाहिर छन् ५० बन्दी

काठमाडौँ- बाँकेको बैजनाथ-२ नौवस्तास्थित क्षेत्रीय कारागार रहेको बालसुधार गृहका बालबन्दीबीच झडप भएको छ। सुधारगृहको दुईवटा ‘ब्लक’ मा रहेका बन्दीबीच विवाद भएर झडप भएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बन्दीहरूबीच झडप हुँदा चार जना घाइते भएका छन्। उनीहरू उपचारपछि सुधारगृह फर्किसकेका छन् भने एक जनाको अझै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सुधारगृहको मुख्यद्वार नै फुटाएर केही बन्दी बाहिर निस्किएका छन्।

‘दुईवटा ब्लकमा भएका बन्दीबीच भएको विवादले उग्ररुप लिएछ। विवाद चर्किँदै जाँदा ढुंगा हानाहान हुन थालेपछि अवस्था नियन्त्रण बाहिर गएको हो,’ उनले हिमालप्रेससँग भने, ‘सुधार गृहमा ११६ जना बालबन्दी छन्, उनीहरू सबै प्रदर्शनमा उत्रिएको पाइयो। अहिले करिब ५० जना जति बन्दी चक्कु, भवनको झ्यालको सिसा, मार्बल, रड लिएर बाहिर प्रदर्शन गरिरहेका छन्। हामीले सम्झाउने प्रयास गरिरहेका छौँ।’

उनले सुधारगृह वरपर बर्दीधारी, हतियारधारी सुरक्षाकर्मी परिचालन गर्न नमिल्ने भएकाले पनि अवस्था नियन्त्रणमा लिन समस्या भएको बताए। ‘बाल सुधारगृहमा बर्दी लगाएका, हतियार बोकेका सुरक्षाकर्मी परिचालन गर्न पाइँदैन,’ उनले थप भने, ‘बन्दीहरू नै हतियार लिएर हिँडेका छन्। तर सादा पोसाकका सशस्त्र र प्रहरी परिचालन गरेर चारैतिरबाट घेरा हालिएको छ।’

बन्दीहरूबीच शनिबार रातिदेखि नै विवाद सुरु भएको थियो। तर के विषयमा विवाद सुरु भएको भन्ने नखुलेको प्रमुख जिल्ला अधिकारी पोखरेल बताउँछन्।

प्रकाशित: १५ पुष २०८० १९:२७ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast