अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा कुटाकुट, ३५ जना घाइते

हिमाल प्रेस ८ पुष २०७९ ११:५८ | Friday, December 23, 2022
अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा कुटाकुट, ३५ जना घाइते प्रतीकात्मक तस्बिर।

धनगढी- बैतडीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको छ। मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयवासीबीच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जना घाइते भएका छन्।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिन मेलौली नगरपालिका-७ का स्थानीयले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए। त्यसका विरुद्धमा वडा नम्बर १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए।

उनीहरूले वडा नम्बर १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग गरेका छन्। बिहीबार दुवै पक्षले नाराबाजी गर्दै गर्दा कुटाकुट भएको हो। कुटाकुमा वडा नम्बर ७ का २५ जना घाइते भएका छन् भने वडा नम्बर १ का १० जना घाइते भएको छन्।

अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन छ। तर कुन ठाउँमा अस्पताल बनाउने भन्ने विषयमा विवाद भएको हो।

२०७० सालदेखि अस्पताल निर्माणको कुरा उठे पनि स्थानीयवासीबीचको विवादले अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन। अस्पतालकै विषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन्।

प्रकाशित: ८ पुष २०७९ ११:५८ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast