हात्ती सुन्दरीको उपाधि सेल्फीकलीलाई

हिमाल प्रेस ११ पुष २०८० १९:५५
14
SHARES
हात्ती सुन्दरीको उपाधि सेल्फीकलीलाई

चितवन- हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेकी छन्। सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएकी हुन्।

सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सेल्फीकलीले पाँच सय पूर्णांकमा तीन सय ९४ अंक ल्याएर उपाधि जित्न सफल भएकी हुन्। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध भएर सेल्फीकलीले दैनिक पर्यटकलाई सेवा दिँदै आएकी छन्।

प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीया समृद्धिकली तेस्रो भएका छन्। दुवैले क्रमशः तीन सय ९३ र तीन सय ५६ अंक प्राप्त गरे। सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए।

निर्णायकले सरसफाइतर्फ हात्तीको खुट्टा, मुख र शरीरका अन्य भागको सरसफाइ र अनुशासनतर्फ हात्तीको रहनसहन र उसले मानव जातिलाई गर्ने व्यवहारको मूल्यांकनका आधारमा हात्ती सुन्दरी छनोट गरेका हुन्।

हात्तीको शृंगार पटार, सजावट, आँखाको चमक, हात्ती चालकको अनुभव, अनुशासन, हात्तीको उमेर र छालाको चम्किलो पनालाई आधार मानेर सुन्दरी छनोट गरिएको निर्णायक समितिका सदस्य विनोद तिमिल्सिनाले जानकारी दिए। हात्तीको फूर्तिलोपना, आदेश पालना, सोझोपना, हिँडाइ र शारीरिक बनावटलाई समेत आधार मानेर सुन्दरी छनोटको गरिएको उनले बताए।

हात्ती महोत्सव समापनका दिन प्रतियोगितामा प्रथम हुने हात्तीलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ। आउँदो शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ।

नयाँ वर्ष सन् २०२४ को अवसर पारेर सञ्चालन गरिएको महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। -रासस

प्रकाशित: ११ पुष २०८० १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast