ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री

हिमाल प्रेस ११ पुष २०८० ११:५४ | Wednesday, December 27, 2023
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन्।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै उनले यसका लागि सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको बताए।

प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताएका छन्।

उनले देशको जनसांखिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसंख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरेका छन्।

ज्येष्ठ नागरिकले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्था प्रभावकारी बन्दै गएको बताए।

‘सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिँदै आएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु।’

यसवर्षको दिवसको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ रहेको छ।

प्रकाशित: ११ पुष २०८० ११:५४ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast