काठमाडौँ- वीर अस्पतालले नेपालमा पहिलोपटक क्यान्सरको विकीरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ बाट सेवा सुरु गरिएको बताए।
अस्पतालमा यसअघि आठ वर्षअघि क्यान्सरको विकीरणको उपचारका लागि रेडियोथेरापी सेवा सञ्चालन गरिएको थियो। क्लिनिक अंकोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्यले अहिले आंशिक रूपमा सञ्चालन गरिएको बताए। उनका अनुसार अहिले दुई जना बिरामीलाई क्यान्सरको विकिरणको उपचार गरिरहेको बताए।
क्लिनिक अंकोलोजी विभागका प्रमुख प्राडा आचार्यका अनुसार उपकरण चलाउन दक्ष भइसकेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म दैनिक ५० जना बिरामीको उपचार गरिनेछ। ‘अत्याधुनिक उपकरण टोमोथेरापीमा रहेको विकिरणले घुमाई-घुमाई बिरामीमा भएको क्यान्सरको सेललाई हाई डोज दिएर मार्ने तर सामान्य सेललाई कम डोज दिएर बचाउने गर्नुपर्दछ,’ उनले भने।
अस्पतालमा उपचारका लागि १ लाख ५० हजार खर्च हुने र भारतमा सोही प्रकारको उपचार गरेबापत ५ लाखसम्म खर्च हुने उनको भनाइ छ। नेपालका ३० प्रतिशत क्यान्सरका बिरामी उक्त सेवा लिन भारत जाने गर्दछन्।
उनले सयजना बिरामीमध्ये ६० जना बिरामीलाई कुनै न कुनै विकिरणबाट उपचार गर्नुपर्ने बताए। उनले गरिबी, असहाय विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने बताए।


