चितवन राष्ट्रिय निकुञ्जमा आक्रामक बने ध्रुवे, गोविन्दे,रोनाल्डो र मकुना

हिमाल प्रेस ८ पुष २०८० १७:३२ | Sunday, December 24, 2023
चितवन राष्ट्रिय निकुञ्जमा आक्रामक बने ध्रुवे, गोविन्दे,रोनाल्डो र मकुना प्रतीकात्मक तस्बिर।

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन्। निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले जगतपुर, माडी र निकुञ्जको पश्चिम क्षेत्रमा त्रास बढाएको छ। गोविन्दे, रोनाल्डो र मकुनाले पूर्वी क्षेत्रमा त्रास बढाएको उनले बताए।

‘ध्रुवे माडी र जगतपुर क्षेत्रमा छ भने अन्य तीन हात्ती सौराहा क्षेत्रमा रहेका छन्’, तिवारीले भने, ‘सौराहा क्षेत्रमा हात्ती प्रजनन् केन्द्र खोरसोर क्षेत्र तथा पोथी हात्ती यहीँ क्षेत्रमा भएकाले तीन हात्तीलाई यस क्षेत्रमा केन्द्रीत गराएर राखिएको हो।’

निकुञ्जमा रहेका भाले हात्तीको सक्रियता बढेसँगै निकुञ्ज प्रशासनले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। उनले भने, ‘जङ्गली हात्ती समुदायमा पस्ने र फर्कने क्रम जारी छ। सबै सजग रहनुहोला।’

अहिले समुदायमा पस्ने, टहरा भत्काउने, अन्नबाली नष्ट गर्ने लगायतका काम गरिरहेको भन्दै तिवारीले निकुञ्ज आसपासका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको बताए। समय समयमा यी हात्ती बस्ती पस्ने गरेको भन्दै उहाँले सबै सजग भइरहन र सामुदायिक वन क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजगता अपनाउन अनुरोध गरिएको बताए।

एक्लै भएका बेला यी हात्तीले समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने भएको भन्दै सूचना अधिकारी तिवारीले हात्ती देखिएमा निकुञ्ज प्रशासन वा नजिकैको सुरक्षा पोष्टमा खबर गर्नसमेत अनुरोध गरिएको जानकारी दिए। रासस

प्रकाशित: ८ पुष २०८० १७:३२ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast