पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ। शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापति लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए।
सन्तोषले प्रहरीसँगको बयानका क्रममा आफूले नियतवश रविलाई खोया नहानेको बताएका छन्। कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार रानाभाटले आफू सूर्यदर्शन सहकारीको बचतकर्ता नरहेको पनि बताएका छन्।
रविले शनिबार कार्यक्रममा नै उनलाई पक्राउ नगर्न र छाड्न आग्रह गरेका थिए। उनले भनेका थिए, ‘पूर्वगृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नू, मगमग बसाउने फूलको थुंगा दिएर घर पठाइदिनू।’
तर, प्रहरीले उनलाई समय लिएर अनुसन्धान गर्न लागेको हो। खोया फालिसकेपछि सन्तोषमाथि रास्वपाकै कार्यकर्ताले प्रहरीकै अगाडि कुटपिटसमेत गरेका थिए। उजुरी नपरे पनि घटनाको कारणबारे प्रहरीले अनुसन्धान गर्न लागेको हो।
रास्वपाले पनि एक विज्ञप्ति जारी गर्दै पोखरा घटनाबारे प्रतिक्रिया जनाएको छ। प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन। यसबारे न प्रहरीले प्रहारकर्तालाई उद्धृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन्।’