काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले ६ ठाउँमा निषेधादेश जारी गरेको छ। आज (बुधबार) देखि लागू हुने गरेर दुई महिनाका लागि ५ जनाभन्दा बढी भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेधादेश जारी गरिएको हो।
कार्यालयका अनुसार शीतल निवास (राष्ट्रपति कार्यालय), प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसमा निषेधादेश जारी गरिएको कार्यालयले जनाएको छ।
यी हुन् निषेधित क्षेत्र
क) शीतल निवास (राष्ट्रपति कार्यालय) को निषेधित क्षेत्रः पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट, दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म।
ख) प्रधानमन्त्री निवास वालुवाटारको निषेधित क्षेत्रः पुरानो पवित्र वर्कशप चोकबाट रसियन राजदुतावास हुँदै ईटालीया चोक, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम, राष्ट्रबैंक चोकवाट पूर्वतर्फ १०० मिटर, इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म।
ग) संसद् भवन नयाँ बानेश्वरको निषेधित क्षेत्रः संसद् भवन र परिसर दक्षिणतर्फको पेटीसँग जोडिएको सर्भिस ट्र्याकसम्मको भाग, संसद् भवनको पश्चिमतर्फको थापागाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोकसम्मको सम्पूर्ण सडक खण्ड, संसद् भवनको दक्षिण पूर्वी किनाराको सर्भिस ट्र्याक हुँदै नयाँ बानेश्वर चोकदेखि ७५ मिटर पश्चिमसम्मको सर्भिस ट्रयाकसम्म।
घ) सिंहदरबारको निषेधित क्षेत्रः भद्रकाली मन्दिर पूर्व तीनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, पद्मोदय मोडदेखि सिंहदरबार मूलगेटबाट सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डलासम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय हुँदै हनुमानस्थान मन्दिर जाने बाटोसम्म।
ङ) हरित गृह (उपराष्ट्रपति कार्यालय) को निषेधित क्षेत्रः केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म।
च) माइतीघर मण्डलादेखि बानेश्वर चोक सम्मको निषेधित क्षेत्रः माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म।




