प्रचण्डसँग मनमुटावपछि कसरी अघि बढ्दैछन् विप्लव?

हिमाल प्रेस ३ पुष २०८० १८:२५
36
SHARES
प्रचण्डसँग मनमुटावपछि कसरी अघि बढ्दैछन् विप्लव? कपिलवस्तुको शिवगढीमा बसेको विप्लव नेकपाको बैठक।

काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मनमुटाव भएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी बैठकमा सक्रिय भएका छन्। बैठक केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा बसेको हो। बैठकमा महासचिव विप्लवले विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार’ सम्बन्धी राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन्।

सरकारले नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको र समाजवादी मोर्चा गतिशील बनाउन प्रचण्डले आलटाल गरेको विषयमा बैठकमा गम्भीर छलफल भइरहेको विप्लव नेकपाका एक नेताले जानकारी दिए। ‘समाजवादी यात्रा भन्दै प्रचण्डले मोर्चा घोषणा गरे पनि पछिल्लो चासो देखाएका छैनन्’, ती नेताले भने। प्रचण्डले सत्ता टिकाउन मात्र मोर्चा बनाएको आरोप ती नेताको छ।

साथै प्रचण्डले पक्राउ पुर्जी फिर्ता लिन चासो नदेखाएको विप्लव निकट नेताहरूको आरोप छ। गत मंसिर १८ मा सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ जिल्ला अदालतबाट विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतका नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जीपछि विप्लवले आन्दोलनको घोषणा गरेका थिए। विप्लवले भनेका छन्, ‘तत्कालीन सरकारसँग हामीले सम्झौता गरेका हौँ। किन पक्राउ पुर्जी?

पक्राउ पुर्जीबारे विप्लवका दोस्रो स्तरका नेता प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटेर गुनासो पोखेका थिए। प्रकाण्डले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि पक्राउ पुर्जीकै विषयमा कुराकानी गरेका थिए। एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ भन्छन्, ‘पक्राउ पुर्जी जारी भएपछि उहाँ (प्रकाण्ड) जीको असन्तुष्टि छ।’

विप्लवले अहिले पार्टी बैठकबाट के निर्णय लिन्छन् भन्ने चासोको विषय छ। विप्लवको प्रतिवेदन समेटिएको ‘विशेष परिस्थिति’बारे खुलाइएको छैन। विप्लव माओवादी केन्द्रसमेत सहभागी समाजवादी मोर्चामा छन्। जुन मोर्चामा नेकपा, एकीकृत समाजवादी, जसपा पनि छन्। तर पछिल्लो समय मोर्चा शून्यजस्तै छ। मोर्चाले सरकार टिकाउने काम मात्र गरेको गुनासो बढेको छ। मोर्चाभित्रैका दलहरू पनि अस्थिर छन्।

नेकपाको बैठकमा विप्लवको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले समूहगत रूपमा आआफ्ना धारणा राख्ने क्रम जारी छ। पक्राउ पुर्जीले थपिएको चुनौती र आगामी कार्यभारका सम्बन्धमा बहस भइरहेको एक नेताले बताए। महासचिव विप्लवले पोलिटब्युरो बैठक बोलाएर राजनीति प्रतिवेदनमाथि सुझाव मागेका थिए। पक्राउ पुर्जीपछि के गर्ने विषयमा विप्लवले निर्णय लिने एक नेता बताउँछन्।

विप्लव नेकपाको बैठकलाई लिएर समाजवादी मोर्चा र सरकारमा भने बढी चासो देखिएको छ। विप्लवले बैठक बोलाएलगत्तै समाजवादी मोर्चाका तर्फबाट माधवकुमार नेपालले पक्राउ पुर्जी बारे विज्ञप्ति जारी गरेर विरोध गरेका छन्। विज्ञप्तिमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सरकार र सम्बद्ध पक्षलाई आह्वान गरिएको छ।

मंसिर १८ गते पक्राउ पुर्जी जारी गर्दा मोर्चा मौन थियो। पुस २ गते मोर्चाले विज्ञप्ति जारी ग¥यो। विप्लवले सरकार र समाजवादी मोर्चाभित्रै असन्तुष्टि जनाएकाले विज्ञप्ति जारी गरेको हो कि भन्ने आशंका छ।

समाजवादीका सचिव श्रेष्ठ मोर्चाको बैठक ढिला बसेकाले विज्ञप्ति ढिला जारी भएको बताउँछन्। ‘मोर्चाको बैठक दुई दिनअघि मात्र बस्यो। त्यसपछि मोर्चाको अध्यक्षको हैसियतले उहाँ (माधव नेपाल)ले विज्ञप्ति जारी गर्नुभएको हो’, उनले भने।

विप्लवविरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। २०८० मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ।

२०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपा २०७६ साल फागुनमा सरकारसँग तीन बुँदे सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएको थियो।

प्रकाशित: ३ पुष २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast